विश्व

जापानको सत्तारुढ दलको दोस्रो मुख्य नेतामा अमारी नियुक्त

इकागज |
असोज १५, २०७८ शुक्रबार ६:२७ बजे

जापानको सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को दोस्रो मुख्य पदमा अर्का प्रभावशाली नेता अकिरा अमारीलाई नियुक्त गरिएको छ । 

पार्टीका नवनिर्वाचित अध्यक्ष तथा भावी प्रधानमन्त्री फुमिओ किशिदाले पूर्व अर्थमन्त्री समेत रहेका अमारीलाई पार्टीको महासचिवमा नियुक्त गरेका हुन् । 


पार्टीको अति महत्वपूर्ण जिम्मेबारी अमारीलाई सुम्पिने निर्णय उहाँले बिहीबार गरेको पार्टी श्रोतले जनाएको छ । 

अहिले पार्टीको कर प्रणालीसम्वन्धी अनुसन्धान आयोगको प्रमुख रहेका ७२ बर्षीय नेता अमारीलाई जापानमा क्षमतावान, प्रभावशाली र राम्रो नेताको रूपमा चिनिन्छ । 

पार्टी अध्यक्षमा किशिदा निर्वाचित भएपछि पार्टी र सरकार तर्फ धेरै जिम्मेवारी हेरफेर हुने देखिएको छ । 

जापानका पूर्व विदेशमन्त्रीसमेत रहेका किशिदाले २५७ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए । 

नवनिर्वाचत अध्यक्ष किशिदाले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्नेछन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिदाले निर्वाचित हुने मौका पाएका हुन् ।

सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने घोषणा गरेका थिए । उनी प्रधानमन्त्री भएको झण्डै एक बर्षमै विदा हुन लागेका हुन् । 


Author

थप समाचार
x