विश्व

अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा

इकागज |
असोज १९, २०७८ मंगलबार ६:३१ बजे

स्टकहोम- शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ । 

अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । 


उहाँहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गरेका थिए । 

शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारेमा उहाँहरूले गरेको अध्ययन दुखाइसम्बन्धी समस्या समाधान गर्ने उपचारका लागि उपयोगी हुने बताइएको छ । 

नोबेल पुरस्कार कमिटीका सदस्यहरूले मानव जीवनका लागि ठूलो योगदान हुने भएकाले यस अध्ययनका लागि पुरस्कार दिने निर्णय भएको बताएका छन् । 

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले पिरो खुर्सानी खाँदा पोलेको महसुस गराउने रसायनका बारेमा अध्ययन गरेका थिए । 

त्यस्तै पाटापौटियनले गरेको अध्ययनबाट फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लागेको थियो । 

दुवै जनालाई पुरस्कारस्वरूप आठ लाख ४५ हजार पाउन्ड रकम प्रदान गरिने नोबेल कमिटीले जनाएको छ । 

कमिटीले कोरोनाभाइरुसको महामारीका कारण यसवर्षको नोबेल पुरस्कार विजेताहरूलाई सम्बन्धित देशहरूबाटै प्रदान गर्ने योजना बनाएको छ । (एएफपी)


Author

थप समाचार
x