विश्व

अमेरिकामा कोभिडको दोस्रो खोपलाई अनुमति

इकागज |
पुस ५, २०७७ आइतबार ७:२४ बजे

अमेरिकी सरकारले कोभिड-१९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ । यसले खोपको दशौँ लाख मात्रा वितरण गर्न बाटो खुला भएको बताइएको छ । अमेरिकी खाद्य तथा औषधि नियामक संस्था (एफडीए) ले गत हप्ता अनुमति दिएको फाइजर बायोएनटेकपछि मोडेर्ना वितरणमा आएको छ ।

अमेरिकी सरकारले २० करोड मोडेर्ना खोप किन्न सहमति दिएको छ, जसमध्ये ६० लाख अब वितरणका लागि विभिन्न स्थानमा पठाउन तयार हुने बताइएको छ । कोभिड-१९ सम्बन्धी मृत्यु र सङ्क्रमण संसारमै सबभन्दा धेरै अमेरिकामा छ ।


जोन्स् हप्किन्स् विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ लाख भन्दा बढि मानिसहरूको कोभिड-१९ का कारण मृत्यु भएको छ भने एक करोड ७२ लाख भन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन् । 'जनवरी महिनामा भाइरसको सङ्क्रमणको समस्या सुरु हुनु र डिसेम्बरमा दुईवटा खोप तयार हुनु महत्त्वपूर्ण प्रगति हो,' टेनेसीस्थित महारी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा.जेम्स हिल्डर्थले भने ।

एफडीए सल्लाहकार समितिले बिहीवार एकजना तटस्थ सहित २०-० मतका साथ खोपलाई अनुमोदन गरेको थियो । १८ वर्ष र त्यो भन्दा माथिको उमेर समूहका लागि मोडेर्ना खोपले पार्न सक्ने जोखिमका तुलनामा फाइदा बढी रहेको भन्दै मतदान भएपछि अनुमति दिइएको हो ।

नियामकहरूले यो साताको सुरुमा मोडेर्ना खोप ९४% प्रभावकारी रहेको रिपोर्ट दिएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमति दिइएको भन्ने औपचारिक घोषणा हुनु घण्टौँ अघि ट्वीट गरे, जसमा उनले खोप 'अत्यधिक मतले अनुमोदित' भएको र 'वितरण तत्काल सुरु हुने' भन्दै खुशी व्यक्त गरेका थिए । अमेरिकी खोप कार्यक्रमले एप्रिलसम्ममा ५ करोड मानिसलाई खोप लगाइसक्ने बताएको छ ।

पहिले खोप पाउने को-को ?
न्यूयोर्ककी नर्स स्यान्ड्रा लिन्ड्से सोमवार फाइजर खोप दिन सुरु भए यता खोप लिने पहिलो व्यक्ति बनेकी छन् । उनले भनेकी थिइन्, 'यो खोप हाम्रो इतिहासको निकै पीडादायक समयको अन्त्यको सुरुवात होस् भन्ने आशा गर्छु । खोप सुरक्षित छ भन्ने कुरा मानिसमा विश्वास होस् भन्ने चाहन्छु । महामारीका बेला हामी सबैले आ-आफ्नो जिम्मेबारी निर्वाह गर्नुपर्छ ।'

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको निर्देशिकामा स्वास्थ्यकर्मीहरूलाई प्राथमिकता सूचिमा राख्नुपर्ने बताइएको छ । त्यसपछि लामो समयदेखि केयर होममा बसिरहेका अमेरिकी प्राथमिकतामा छन् । अति आवश्यक क्षेत्रमा कार्यरतलाई त्यसपछिको प्राथमिकतामा राखिएको छ । तर कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भन्ने कुरा राज्यहरूको निर्णयमा निर्भर हुनेछ ।

सङ्घीय खोप वितरण कार्यक्रम अपरेशन वार्प स्पीडका प्रमुख वैज्ञानिक मन्सेफ स्लावीले युवा र स्वस्थ्य मानिसहरू सबैभन्दा पछाडि खोप पाउनेमा पर्नुपर्ने बताए । कम्तीमा ७० अथवा ८० प्रतिशत अमेरिकीले खोप लिएपछि मात्रै हर्ड इम्यूनिटि अर्थात् सामुदायिक प्रतिरोध क्षमता विकास हुने उनको भनाइ छ ।

फाइजर र मोडेर्ना कसरी फरक
मोडेर्नालाई एक ठाउँबाट अर्को ठाउँमा लैजान माइनस २० डिग्रीको तापक्रममा भण्डारण गरिएको हुनुपर्छ जुन साधारण फ्रिजरको तापक्रम हो । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेक एसईले उत्पादन गरेको खोप भने माइनस ७५ डिग्रीमा भण्डारण गर्नुपर्ने हुन्छ । जसले गर्दा यताउता लैजाने काम तुलनात्मक रूपमा मुस्किल हुन्छ ।

फाइजर जस्तै मोडेर्नाका लागि पनि दोस्रो बूस्टर डोज आवश्यक पर्छ । मोडेर्नाको बूस्टर डोज पहिलो खोप लगाएको २८ औँ दिनमा लगाउनुपर्छ भने फाइजर खोपको दोस्रो मात्रा २१ औँ दिनमा लगाउनुपर्छ । मोडेर्ना क्याम्ब्रिज म्यासाचुसेट्समा छ भने र उसले यसअघि अधिकांश उत्पादन त्यहीँ हुने बताएको थियो । बीबीसी


Author

थप समाचार
x