विश्व

जापानी राजकुमारी माकोको सर्वसाधारणसँग साधारण विवाह

इकागज |
कात्तिक ९, २०७८ मंगलबार १२:४२ बजे

जापान-  जापानकी ३० वर्षीय राजकुमारी माको (सम्राट नारुहितोकी भतिजी तथा युवराज फुमिहितोकी छोरी) ले मंगलबार उनको विद्यार्थी जीवनकालका प्रेमी (कोमुरो के) सँग विवाह गरेकी छन् ।

जापानी परम्पराअनुसार राजकुमारी माको आजैबाट राजपरिवारका सम्पूर्ण मान, पदवी तथा सुविधाबाट अलग भएकी छन् र उनी श्रीमती कोमुरो माको का रूपमा एक नागरिक भएर जीवनोयापन गर्ने छिन्। कोमुरो के अमेरिकामा ल फर्ममा कार्यरत छन्। नवविवाहित दम्पत्तिले केही दिनमा नै संयुक्त राज्य अमेरिका जाने योजना बनाएका छन् ।


शाही परिवारको विवाह भए पनि यो विवाहमा कुनै समारोह, स्वागत भोज तथा परम्परागत संस्कार नगरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । यो जोडीको विवाहका बारेमा मिडियाले ४-५ वर्ष पहिलेदेखि नै नराम्रा स्क्यान्डलहरू बारम्बार प्रकाशन गरेका र मिडियाको अनावश्यक हस्तक्षेपका कारण राजकुमारी माको जटिल मानसिक तनावमा परेको समाचार पनि आएका थिए ।

राजपरिवारका महिला सदस्यले सर्वसाधरण व्यक्तिसँग विवाह गरी शाही पदवी त्याग्दा नियमानुसार पाउने १५ करोड ३० लाख येन (ने.रु. १५ करोड ४० लाख) जति रकम पनि माकोले नलिने निर्णय गरेकी छन् ।

जापानका राजपरिवारको कुनै थर छैन । राजपरिवारका सदस्यको नाम एक शब्दको मात्र हुन्छ। राजपरिवारका सदस्यलाई पब्लिकले सम्बोधन गर्दा नामका पछाडि 'सामा' जोडिन्छ, जस्तै माको सामा । सर्वसाधारणलाई सम्बोधन गर्दा भने 'सान'जोडिन्छ । आजबाट पूर्व राजकुमारी माकोले 'कोमुरो' थर पाएकी छन् र कोमुरो माको भएकी छन् । उनलाई पब्लिकमा सम्बोधन गर्दा माको सान भनिने छ।

विवाह दर्ता गरिसकेपछि नवविवाहित जोडीले छोटो पत्रकार सम्मेलनमा आफ्ना लिखित मन्तव्य पढेर सुनाएका छन् । दुवै जनाले दुःख सुखमा साथ रही खुशीको दाम्पत्य जीवनोयापन गर्ने बताएका छन्।


Author

थप समाचार
x