दीपावलीपछि दिल्लीमा प्रदूषण उच्च, घाँटी चिलाउने र आँखा दुख्ने समस्या बढ्यो
काठमाडौँ- शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तरको सूचकांक ‘खतरनाक’ श्रेणीमा सूचीकृत भयो । बिहीबार दीपावलीमा मानिसहरुले प्रतिबन्ध उल्लंघन गर्दै पट्का पड्काए, जसको कारण नयाँ दिल्ली शुक्रबार बिहान धुवाँको कम्बलमुनि उठ्यो ।
तापक्रम घटेसँगै हावाको गति न्यून भएपछि प्रदूषक जम्मा भएकाले बिहीबार अपराह्न ४ बजे ३ सय ८२ रहेको उक्त सहरको वायु गुणस्तर सूचक सोही दिन बेलुका गम्भीर जोनमा प्रवेश गरेको थियो ।
शुक्रबार बिहान दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा पार्टिकुलेट म्याटर (पिएम) को सांद्रता ९९९ प्रति घनमिटर रहेको थियो, जुन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको पिएम २५ को सुरक्षित सीमाभन्दा बढी थियो । हावामा उत्पन्न भएको पिएम २.५ ले फोक्सोका क्यान्सरजस्ता हृदय र श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउन सक्छ ।
‘पट्का पड्काएपछि दिल्लीमा प्रदूषण बढ्नुका साथै बायो-मास प्रदूषकहरुको उपस्थितिपछि समग्र वायुको गुणस्तर शुक्रबार गम्भीर तहमा पुग्यो । वायुको गति बढेपछि हावाको गुणस्तर र कुहिरोको अवस्था सुधार हुन्छ । हवा र उच्च आद्र्रताले कुहिरो सिर्जना गरिरहेको छैन,’ भारत मौसम विभाग (आइएमडी), दिल्लीका आरके जेनामानीले भने ।
विश्वका विभिन्न मुलुकका राजधानीहरुमध्ये नयाँ दिल्लीको वायु गुणस्तर खराब छ । त्यसमा पनि शुक्रबार बिहान वायुको गुणस्तर सबैभन्दा जोखिमयुक्त रहेको थियो । भारतीय नागरिकले सबैभन्दा ठूलो चाड दीपावलीलाई धुँवादार तरिकाले मनाउन खोज्दा यसको मूल्य चुकाउनुपरेको थियो ।
बिहीबार राति ९ बजेपछि पनि पट्का पड्काउँदा परिदावाद, गाजियावाद, गुडगाउँ, नोएडाजस्ता दिल्लीका छिमेकी सहरहरुमा उच्च वायु प्रदूषण मापन गरिएको थियो । दिल्ली सरकारले सबै खालका पट्कामा पूर्ण प्रतिबन्ध लगाए पनि अधिकांश मानिसले पट्का पड्काएको देखियो, जसले वायुको गुणस्तरमा ह्रास ल्याउन योगदान पुर्यायो ।
‘दिल्लीमा पटाका प्रतिबन्ध सफल भएको देखिएन, जसले गर्दा वायुमा खतरनाक प्रदूषण स्तर थपियो,’ सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर (सिआरइए)का विश्लेषक सुनिल दहियाले भने ।
दक्षिण दिल्लीको लाजपत नगर, उत्तरी दिल्लीको बुरारी, पश्चिम दिल्लीको पश्चिम विहार र पूर्वी दिल्लीको शाहदराका बासिन्दाले बेलुका ७ बजे नै पट्का पड्काउन सुरु गरे । सम्साँझै पट्का पड्काउने क्रियाकलाप परम्पराभन्दा अलि पृथकजस्तो पनि लाग्थ्यो ।
यो सिजनको पहिलो इपिसोडका रुपमा फैलिएको धुँवाको तहले विभिन्न सहरका मानिसले घाँटी चिलाउने र आँखा पोल्नेजस्ता समस्या देखिएको गुनासो गरे ।
हरियाणा सरकारले केन्द्रीय राजधानीसँग जोडिएका १४ जिल्लामा पट्का पड्काउन प्रतिबन्ध लगाएको छ भने मुलुकका अन्य भागमा पनि यसलाई प्रतिबन्ध लगाइएको छ । तर, ती स्थानमा बसेका मानिसहरुले यो प्रतिबन्ध पालना गरेको पाइएन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया