विश्व

रूसी राष्ट्रपति पुटिन डिसेम्बरमा भारत आउने

इकागज |
मंसिर ११, २०७८ शनिबार ६:३१ बजे

भारत- रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी डिसेम्बरमा भारत आउने भएका छन् । भारत-रूस बार्षिक सम्मेलनमा सहभागी हुन उहाँ डिसेम्बर ६ तारिखमा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । 

उक्त अवसरमा रूसी राष्ट्रपति पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भेटवार्ता पनि हुने बताइएको । उनीहरूका बीचमा सन् २०१९ पछि पहिलो पटक भेटवार्ता हुने भएको हो । 


यसअघि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनका बीचमा सन् २०१९ को नोभेम्बरमा ब्रासिलियामा भएको ब्रिक सम्मेलनका क्रममा भेटवार्ता भएको थियो ।  

भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारतीय उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने र दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल गर्ने जनाइएको छ । 

त्यसैगरी आपसी सहकार्य बढाउने र दुई पक्षीय सम्वन्धलाई थप मजबुद बनाउने बारेमा पनि छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शुक्रबार भने, 'रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  यही डिसेम्बर ६ तारिखमा भारतको औपचारिक भ्रमण गर्ने भएको छ, त्यसका लागि उहाँ केन्द्रीय राजधानी नयाँ दिल्ली आउनुहुने भएको छ ।'

'२१औँ भारत-रूस बार्षिक सम्मेलनमा सहभागी हुन उनी आउने भएको हो र सो अबसरमा भारतीय उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम समेत रहेको छ,' प्रवक्ता बागचीले थपे । 

साप्ताहिक पत्रकार सम्मेलनका क्रममा उनले दुई देशबीचमा सम्वन्ध थप मजबुद बनाउन र आपसी सहकार्य बढाउन राष्ट्रपति पुटिनको भ्रमण फलदायी हुने विश्वास पनि व्यक्त गरे । 

उनीहरूले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासो र सरोकारका विषयमा समेत छलफल गरेर समान धारणा र योजना बनाउन प्रयास पनि गर्ने प्रवक्ता बागचीको भनाइ छ । 

रूस र भारतले हरेक बर्ष यस्तै बार्षिक सम्मेलन गर्दै आएका छन् । यसअघि सन् २०२० मा कोरोना महामारीका कारण सम्मेलन हुन सकेको थिएन भने सन् २०१९ को बार्षिक सम्मेलन रुसमै भएको थियो । त्यतिबेलाको सम्मेलनका लागि भारतीय प्रधानमन्त्री मोदी रूस गएका थिए । (एएनआई)


Author

थप समाचार
x