विश्व

चीनमा एकल ज्येष्ठ नागरिकका लागि स्मार्ट प्रविधि

अजय अलौकिक |
पुस ११, २०७७ शनिबार २०:४ बजे

बेइजिङ : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो (जोसेफ) बाइडन हाल ७८ वर्षका भए । योसँगै उनी अमेरिकाका सबैभन्दा पाको उमेरका राष्ट्रपति बनेका छन् । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ७० वर्षको उमेरमा राष्ट्रपति बनेर रोनाल्ड रेगनले ६९ वर्षमा अमेरिकी राष्ट्रपति बनेको किर्तिमान तोडेका थिए । यस्तै अवस्था नेपालको राजनीति वृत्तमा पनि देखिन्छ । 

बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीको उमेर ६८ वर्ष छ । यसैगरी ज्योतिषले फेरि पनि प्रधानमन्त्री बन्‍ने भविष्यवाणी गरेको भन्‍ने नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाको उमेर ७४ वर्ष छ भने अर्का शीर्षस्थ नेता रामचन्द्र पौडेल ७८ वर्षका छन् । यसै गरी माधव कुमार नेपाल ६७ र पुष्पकमल दाहाल ६६ वर्षका छन् । दोस्रो पुस्तालाई जिम्मेवारी हस्तान्तरणको चर्चा जति चले तापनि नेपालको राजनीति यिनीहरूकै वरिपरि घुमिरहेको छ । तर समग्र आमनेपालीमा वृध्दवृध्दा तथा ज्येष्ठ नागरिकको यथार्थ धेरै फरक छ ।
 
गाउँघरमा वृध्दवृध्दाको अवस्था दयनीय छ, कि त एक्ला छन् कि नाति नातिनाको हेरचाह गर्छन् । गाउँघरका युवापुस्ता रोजगारको सिलसिलामा परदेशिएका छन् । तापनि गाउँघरको सामाजिक अवस्थितिले एकले अर्कालाई सहयोग गर्ने भावनाका कारण भंयकर दुर्घटनाको जोखिम कम देखिन्छ । तर सहरको अवस्था धेरै नै गम्भिर देखिन्छ । कङ्क्रिट जङ्गलको बीचमा सबै आआफ्ना धुनमा हराएका छन् । एउटै सहरमा भए तापनि वृध्द बुवा आमाबाट सन्तान पर छन् या अलग छन् त कसैको सन्तान रोजगार या उच्च शिक्षाका लागि विदेशिएका छन् । 


यसै गरी कोही वृध्दवृध्दा बहालमा बसेका छन् त कोही कोठा बहालमा दिएर बसेका छन् तर उनीहरू के गर्दैछन्, के भइरहेको छ यस्तो कुराबाट छिमेकी वा सन्तान पनि बेखबर छन् । यस्तै अवस्था चीनमा पनि बढ्दो छ । कामको सिलसिलामा सहर पस्‍ने र विदेशमा रोजगार तथा अध्ययन गर्ने सन्तानका कारणका साथै परिवारमा एक मात्र सन्तान भएका कारणले वृध्दवृध्दा एक्लै बस्‍न बाध्य छन् । साथै चीनमा एकल पुरूष तथा महिला ज्येष्ठ नागरिकको संख्या पनि धेरै छ । हुन त चीनमा ज्येष्ठ नगारिकलाई यातायातदेखि लिएर दैनिक जीवनयापनका विविध कुरामा सरकारले सहुलियत दिँदैआएको छ ।
 
यसै बीच ज्येष्ठ नागरिकलाई मध्य नजरमा राखेर चीनको साङहाई सहरको एक समुदायमा गजबको स्मार्ट उपाय अपनाइएको छ । यसै साङहाई सहर यस वर्षको विश्‍वको स्मार्टेस्ट सिटीको उपाधि पाउने पहिलो चिनियाँ सहर पनि बनेको थियो ।
साङहाई सहरको छाङनिङ जिल्लाको च्याङ सु सडक समुदायले एक्लै जीवनयापन गरिरहेका एकल पुरूष तथा महिला ज्येष्ठ नागरिकका लागि स्मार्ट पानी मिटरको स्थापना गरेको छ । यदि १२ घण्टाभित्र स्मार्ट पानी मिटरमा ०.०१ घन मिटरभन्दा कम मापन भएमा स्वचालित रूपमा उक्त मिटरले चेतावनी दिने छ र लगत्तै समुदायका कर्मचारीले तुरून्तै उक्त घरको वस्तुस्थितिबारे जानकारी लिने छ । 

यस बाहेक एकल ज्येष्ठ नागरिकको घरमा स्मार्ट ढोका सेन्सर पनि स्थापना गरिने भएको छ । यदि तोकिएको समयमा ढोका नखुलेमा चेतावनी जारी गरिने बताइएको छ । यसले चिनियाँ समाजले वृध्दवृध्दामा ध्यान दिएको स्पष्ट हुन्छ ।
 
हाल साङहाईको एक क्षेत्रमा अपनाइएको यो स्मार्ट तरिकालाई चिनियाँहरूले देशैभर फैलाउनुपर्ने विचार राखेका छन् । साथै पछिल्लो समय चीनमा ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धमा व्यापार तथा सेवाको पनि विस्तार भएको छ । सन् २०२० जुनसम्म दुई लाख २० हजार बढी नर्सिङ संस्थाहरू खोलिएका छन् । यसै गरी चीनको १४औं पञ्‍च वर्षीय योजनामा पनि ज्येष्ठ नागरिकको हेरचाहसम्बन्धसँगै उमेर ढल्किँदै गएको कार्यशक्तिप्रति पनि नीति नियमको तर्जुमा तथा सुदृढीकरण गरिने देखिन्छ । चीनमा ज्येष्ठ नागरिकको संख्यामा वृध्दि भएसँगै सन् २०१५ को अन्ततिर दुई सन्तान नीतिलाई अपनाइएको थियो ।

सन् २०१९ को तथ्याङ्क अनुसार, ६० वा ६० वर्षभन्दा माथिको उमेर भएकाको जनसंख्या २५ करोड ४० लाख छ । सन् २०२५ मा यो संख्या ३० करोड पुग्ने र सन् २०५० मा ५० करोड पुग्‍ने अनुमान छ । साथै एक तथ्याङ्क अनुसार, सन् २०५० सम्ममा चीनमा कुल जनसंख्याको करिब १० प्रतिशत ज्येष्ठ नागरिक घर कुरूवा हुने अनुमान छ । यसै गरी, संयुक्त राष्ट्र संघका अनुसार, सन् २०५० मा विश्‍व जनसंख्या ९ अर्ब ७० करोड पुग्‍ने र हरेक ६ जनामा १ जना ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक हुने छ ।
 
नेपालमा ६० वर्षदेखि माथिकालाई ज्येष्ठ नागरिक भनिन्छ साथै संयुक्त राष्ट्र संघले पनि ६० वर्षमाथिकालाई ज्येष्ठ नागरिक मानेको छ । वि.स. २०६८ को जनगणनामा नेपालमा झण्डै २२ लाख ज्येष्ठ नागरिक थिए । सन् २०५० मा नेपालमा यो संख्या ६० लाख पुग्‍ने अनुमान गरिएको छ ।


Author

थप समाचार
x