जहाँ ११ हजार रुपैयाँमा आफ्नै सन्तान बेच्न विवश छन् आमाहरु
आफ्नो बच्चालाई बेच्नुअघि काखमा लिइरहेकी अदामा ।
बीबीसी अफ्रिका आईले केन्याको राजधानी नाइरोबीमा हुने बच्चा बेचबिखनको कालोबजारबारे हालै एउटा समाचार प्रकाशित गर्यो । उक्त समाचार छापिएपछि बेचबिखनको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
तर यस्ता गैरकानुनी काममा संलग्न अर्को पक्षमा रहेका महिलाहरूको धारणा के छ ? आफ्नाो बच्चा ७० पाउन्डमा बेच्न एउटी आमालाई के कुराले बाध्य पार्यो ? आमाबुवा हुँदा आफ्नाो जीवन सहज भएको अदामा बताउँछिन् । पैसा हुँदैनथ्यो, उनका लागि विकल्पहरू त्यतिबेला नै सीमित थिए ।
उनी विद्यालय गइन् र रमाइलो मानिन् । उनका बुवा उनी १२ वर्ष हुँदा बिते र त्यसकै केही वर्षमा आमा पनि बितिन् । 'त्यसपछि जीवन निकै कठिन भयो,' पश्चिम केन्याको ग्रामीण भेगमा रहेको उनको गाउँमा कुरा गर्दै उनले भनिन् । 'म विद्यालयबाट बाहिरिनुपर्यो र आफ्ना लागि आफैँले केही गर्नुपर्ने भयो ।'
बाइस वर्षकी हुँदा अदामाको एकजना पुरुषसँग भेट भयो । उनी गर्भवती भइन् । तर उनीहरूको छोरी जन्मिएको तीन दिनपछि ती व्यक्तिको मृत्यु भयो । उनको एक्लोपन अझ बढ्यो । बिरामी भइरहने शिशुलाई उनले जेनतेन १८ महिनाकी बनाइन् । त्यसपछि बाँच्नका लागि उनलाई तत्काल पैसा चाहिने भयो । उनले सानी छोरीलाई वृद्ध हजुरआमासँग छोडेर काम खोज्नका लागि नाइरोबी गइन् । 'तैँले तेरो बच्चाको लागि एउटा जीवन दिन गइरहेको कुरा नबिर्सेस्,' उनकी हजुरआमाले भनिन् ।
अदामा नाइरोबी आइपुगिन् र त्यहाँका गल्लीहरूमा खरबुजा बेच्न थालिन् । तर त्यसबाट त्यति कमाइ हुँदैनथ्यो र जति कमाइ भएको थियो त्यो पनि उनी घरमा नभएको बेला उनीसँगै एउटै घरमा बस्नेले चोरिदिइन् । सहरमा पनि जीवन सहज थिएन । केशभन्दा तल निधारको माथिपट्टि उनको एउटा खत छ । आफ्नाो बचाउ गर्दा उनलाई त्यस्तो भएको हो । 'केही पुरुषहरू मसँग जिस्किरहेका थिए र एउटा यस्तो समय आयो मैले उनीहरूसँग लड्नैपर्यो,' उनले भनिन् ।
त्यसपछि उनी निर्माण कार्य भइरहेको ठाउँमा काम गर्न गइन्, जहाँ उनलाई पैसा दिइएन र त्यसपछि उनी नाइटक्लबमा काम गर्न गइन् । त्यहाँका हाकिमलाई उनले काम गरेबापतको पैसा गाउँमा रहेकी हजुरआमालाई सीधै पठाइदिन भनिन् ।
त्यसको केही समयपछि डेरा गरेर बस्न सकियोस् भनेर उनले अलि धेरै तलब आउने नयाँ काम खोजिन् । निर्माणकार्य हुने त्यो ठाउँमा भने अलि राम्रो पैसा आउँथ्यो र त्यहाँ उनले एकजना मानिस भेटिन् । उनीहरू एकअर्कासँग भेट गर्न थाले र ती पुरुषले आफूलाई बच्चा चाहिएको बताए ।
अदामाले पनि एउटा प्रस्ताव गरिन्- यदि उनकी छोरीलाई सँगै राख्ने भए बच्चा जन्माउन सकिन्छ । ती पुरुषले सहमति जनाए र गर्भवती भएको पाँच महिनासम्म डेराको भाडा र खानेकुराको पैसा तिरिदिए । अदामा भने आफ्नाी छोरी सहरमा कहिले आइपुग्लिन् भनेर कुरिरहेकी थिइन् । तर एकदिन ती पुरुषले उनलाई छोडेर गए र कहिल्यै आएनन् ।
आफैँलाई पाल्न पर्याप्त पैसा नभएका थुप्रै महिलाहरू गर्भवती भएर बच्चा जन्मिएपछि आफू एक्लैले दुई जना हेर्नुपर्ने अवस्थाले कति तनाव हुन्छ भन्नेबारे जानकार छन् ।
कुनै अपरिचितलाई आफ्नाो बच्चा बेच्नेबारे धेरैले सोच्न पनि सक्दैनन् । तर केन्यामा गरिबीमा रहेका केही त्यस्ता आमाहरू छन् जसका लागि बाँच्ने सीमित विकल्पमध्येको अन्तिम भनेको आफ्नाो बच्चा तस्करलाई बेच्नु हो । तस्करहरूले अचम्म लाग्नेगरी निकै कम पैसा दिन्छन् । आफ्नाो दोस्रो सन्तान पेटमा आउँदा सारा जम्मा १७ वर्षकी थिइन् र उनका अनुसार बच्चालाई हुर्काउनका लागि उनीसँग कुनै स्रोत थिएन ।
उनले आफ्नाो सन्तान एकजना महिलालाई बेचिन् जसले उनलाई करिब २० पाउन्ड दिने प्रस्ताव राखिन् । 'त्यो बेला म सानै थिएँ, मैले जे गरेँ त्यो गलत हो भनेर मलाई कहिल्यै लागेन,' उनले भनिन् । 'पाँच वर्षपछि भने मलाई त्यो कुराले दुःख लाग्यो र मैले त्यो पैसा फिर्ता गर्न चाहेँ ।' उनले त्यति नै पैसामा अरू महिलाले पनि बालबालिका बेचेको आफूलाई थाहा भएको बताइन् ।
'चुनौतीका कारण थुप्रै किशोरीहरूले बच्चा बेच्छन् । विद्यालयमै भएको बेला किशोरीहरू गर्भवती हुन्छन् र सायद घरमा गर्भवती भएको कुरालाई लिएर आमाहरूले कचकच गरिरहन्छन् । अनि १५/१६ वर्षका किशोरीका लागि त्यो ठूलो समस्या हो ।'
अफ्रिकी देशमध्ये किशोरावस्थामै गर्भवती हुने देशमा केन्या पनि एक हो । स्वास्थ्यविज्ञहरूका अनुसार कोरोनाभाइरसको महामारीका बेला यो समस्या झन् बढेको छ र केही महिलाहरू यौन क्रियाकलापमै धकेलिएका छन् र केही विद्यालयले छोडेका छन् ।
'यस्तो अवस्थामा रहेका थुप्रै महिला र किशोरीहरूका कथा मैले सुनेकी छु । भर्खरका युवतीहरू जागिरको खोजीमा सहर आउँछन् सम्बन्धमा रहन्छन् र गर्भवती हुन्छन् । अनि उनीहरूलाई पुरुषले छोडेर भाग्छ,' केन्याकी मानवअधिकारको क्षेत्रमा कार्यरत वकिल प्रुडेन्स मुटिसोले भनिन् ।
'बुवाले नहेर्ने भएपछि यी महिला र युवतीहरूले पैसा कमाउने बाटो खोज्छन् । र, यही अवस्थाले उनीहरूलाई बच्चा बेचबिखन गर्ने तस्करहरूसम्म पुर्याउँछ । मानिसहरूले यसबारे खुलेर भन्दैनन् तर यही नै भइरहेको छ ।'
अदामाले निर्माण क्षेत्रमा काम गर्दा आफूले सिमेन्टका गह्रुङ्गो भारी बोक्न सक्दासम्म गर्भवती भएको कुरा लुकाइन् । तर पछि उनले भाडा तिर्नै सकिनन् । तीन महिनासम्म त घरपतिले केही भनेनन् तर त्यसपछि चाहिँ निकालिदिए । 'भाग्यले कहिले खानेकुरा पाउँथेँ,' उनले भनिन्, 'कहिलेकाहीँ पानी मात्रै पिउँथेँ, प्रार्थना गर्थेँ र सुत्थेँ ।'
अदामाको जस्तै अवस्थामा जब महिलाहरू पुग्छन् तब थुप्रै कारणले उनीहरूलाई तस्करहरूसम्म पुर्याउँछ । आमा र बच्चाको स्वास्थ्यमा खतरा नहुँदासम्म गर्भपतन गर्नु गैरकानुनी हो । खासगरी ग्रामीण भेगमा यौन र प्रजनन स्वास्थ्यबारे किशोरीहरूलाई जानकारी नै छैन र बच्चा लिने कानुनी प्रक्रियाबारे पनि जनचेतनाको अभाव छ ।
'अनिच्छित गर्भधारण हुने महिला र किशोरीलाई सरकारका तर्फबाट कुनै सहायता छैन,' केन्याको परोपकारी संस्था हेल्थ पोभर्टी एक्शनका आयोजक इब्राहिम अलीले भने । बच्चा पाल्नका लागि ग्रहण गर्ने कानुनी प्रक्रिया हुन्छ र उनले सुरक्षित रूपमा कसैलाई आफ्नाो बच्चा दिने विकल्प हुन्छ भन्नेबारे अदामालाई थाहा थिएन । 'मलाई यसबारे थाहा नै थिएन,' उनले भनिन् । 'मैले कहिल्यै सुनेकै थिइनँ ।'
उनले कतै गल्लीमा गर्भपतन गर्नेबारे पनि सोचेको तर आफ्नाो विश्वाससँग मेल नखाएपछि बरु आफ्नाै ज्यान लिन्छु भन्ने सोचेको बताइन् । 'म एकदमै तनावमा थिएँ । अरू मानिसले मलाई बिर्सिउन् भनेर आत्महत्या गर्नेबारे सोच्न थालेकी थिएँ ।'
तर बच्चा जन्मिनु केही साताअघि अदामालाई कसैले एकजना राम्रो पहिरनमा रहेकी म्यारी अवुमा नाम गरेकी महिलासँग चिनाइदियो । ती महिलाले उनलाई गर्भपतन गर्ने वा आत्महत्या गर्ने विषयमा सोच्दै नसोच्न भनिन् । म्यारी अउमाले नैरोबीको झुपडीबस्ती कयोलीमा गैरकानुनी एउटा क्लिनिक चलाउँछिन् । उनले अदामालाई केन्याको मुद्रा १०० दिइन् र अर्को दिन आफ्नाो क्लिनिकमा आउन भनिन् ।
म्यारी अउमाको अस्थायी क्लिनिक खासमा क्लिनिक होइन । दुईकोठे उक्त ठाउँमा बाहिरपट्टि खाली तखताहरू छन् जहाँ केही पुराना औषधि छरिएका छन् । त्यहाँ भित्रका कोठामा चाहिँ बच्चा जन्माउने गरिन्छ । आफ्ना सहयोगीका साथमा अउमा त्यहीँ बस्छिन् र कसले केका लागि बच्चा किनिरहेको छ भन्ने झन्झटतिर नलागीकन आफ्नाो फाइदाका लागि बच्चा किन्ने र बेच्ने गरिरहेकी छन् ।
उनले अदामालाई सन्तान नभएको एउटा जोडीले उनको बच्चा किनेको बताएकी थिइन् । तर यथार्थमा चाहिँ राम्रो पैसा दिने जो कसैलाई म्यारी अउमाले बच्चा बेचिदिन्छिन् । बच्चा जन्माउने बेला भएका आमाहरूलाई अउमा आफू पहिला नर्स भएको पनि बताउँछिन् । तर उनीसँग बच्चा जन्माउँदा चाहिने स्वास्थ्य सामग्री, दक्षता र सफा सुग्घरका केही पनि सामान छैन ।
अदामा क्लिनिकमा पुगेपछि म्यारी अउमाले उनलाई बेथा लाग्ने दुईवटा चक्की खान दिइन् । त्यतिबेला अउमाको क्लिनिकमा बच्चा किन्ने मानिसहरू पालो कुरिरहेका थिए र उनी बेच्न आतुर थिइन् । तर जब अदामाले छोरा जन्माइन् उसमा छातीको समस्या देखियो र तत्कालै उपचार गर्नुपर्ने भयो । अउमाले अदामालाई नवजात शिशुलाई अस्पताल लैजान भनिन् ।
एक साता अस्पतालमा राखेपछि बच्चालाई निको भयो । पहिला घरबाट निकाल्ने घरपतिले उनलाई फेरि बस्न दिने भए र उनले बच्चाको हेरचाह गरिन् । त्यसकै केही समयपछि उनले फेरि मेरी अउमालाई बजारमा भेटिन् र तिनले अर्को १०० शिलिङ दिइन् र अर्को दिन क्लिनिकमा आउन भनिन् ।
'नयाँ बच्चा जन्मिएको छ,' अउमाले आफ्ना ग्राहकलाई सन्देश पठाइन् । '४५,००० ।' म्यारी अउमाले ४५ हजार शिलिङ अर्थात् झन्डै ३०० पाउन्डकोक कुरा गरेकी थिइन् । तर अदामाले केवल १०,००० शिलिङ (करिब ७० पाउन्ड) पाइन् ।
तर म्यारी अउमालाई बच्चा किन्न लाइनमा रहेको मानिस एक वर्षदेखि बच्चाको बेचबिखनबारे खोज पत्रकारिता गरिरहेको बीबीसीको गुप्त पत्रकार हो भन्ने थाहा थिएन । अर्को दिन उक्त अस्थायी क्लिनिकमा अदामा आफ्नाो छोरालाई काखमा खेलाइरहेकी थिइन् । उनको छोरा किन्ने भनिएका व्यक्तिले खासखुस गरेर अदामालाई उनीसँग अर्को विकल्प पनि भएको बताए । अदामाले आफ्नाो मन परिवर्तन गरिन् ।
छोरा लिएर उनी क्लिनिकबाट बाहिरिइन् र सरकारद्वारा सञ्चालित बालगृहमा गइन् । कसैले उनको छोरालाई कानुनी रूपमा पाल्ने व्यवस्था नहुँदासम्म बच्चा उक्त बालगृहकै रेखदेखमा रहनेछ । यो समाचारमा लगाइएको आरोपबारे प्रतिक्रिया जनाउन म्यारी अउमालाई बीबीसीले आग्रह गरे पनि उनले अस्वीकार गरिन् ।
अदामा २९ वर्षकी भइन् र अहिले आफू हुर्केकै गाउँमा बसिरहेकी छन् । उनी अझै पनि कहिलेकाहीँ भोको पेट नै सुत्छिन् । जीवन कष्टपूर्ण छ । नजिकैको एउटा सानो होटलमा कहिलेकाहीँ काम गर्छिन् तर त्यसले पुग्दैन । नाइरोबीबाट जुत्ता ल्याएर गाउँमा जुत्ता पसल खोल्ने उनको सपना छ तर यो उनको एउटा सुदूर सपना हो । उनको छोरासँग कुनै सम्पर्क छैन तर उनलाई कुनै पछुतो पनि छैन ।
'मेरो बच्चा बेच्न लाग्दा म खुसी थिइनँ, मलाई त्यो पैसा समात्न पनि मन थिएन,' उनले भनिन् । 'पैसाको कारोबार नहुने भएपछि उसलाई दिँदा म ठिकै थिएँ ।' उनलाई आफूले छोरा छोडेको बालगृह वरपरको क्षेत्र थाहा छ । त्यो त्यही ठाउँनजिक हो जहाँ उसलाई जन्म दिन उनी लगभग तयार थिइन् । 'मलाई थाहा छ त्यो ठाउँ सुरक्षित छ,' उनले भनिन्, 'र उसको हेरचाह गर्ने मानिस पनि राम्रा छन् ।' (बीबीसीबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया