विश्व

अफगानिस्तानमा भएका गैर-न्यायिक हत्याप्रति संयुक्त राष्ट्रसंघद्वारा चासो

इकागज |
मंसिर २९, २०७८ बुधबार ६:४८ बजे

जेनेभा- अफगानिस्तानमा तालिबानले अगस्तमा सत्ता लिएदेखि १०० भन्दा बढी गैर–न्यायिक हत्यामा संलग्न रहेको आरोप लगाउँदै तालिवान समूहबाट भएका यस्ता गतिविधिप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ ।

अगस्त १५ पछि तालिबान शासकहरूले आम माफी घोषणा गरेपनि यस्ता हत्याका रिपोर्टहरू आउनु चिन्ताको बिषय भएको संयुक्त राष्ट्रसंघका उप अधिकार प्रमुख नाडा अल–नासिफले बताए । 


उहाँले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्लाई भने, 'अगस्त–नोभेम्बरसम्ममा हामीले पूर्व अफगान राष्ट्रिय सुरक्षा बल तथा पूर्व सरकारसँग सम्बन्धित १०० भन्दा बढी अन्य व्यक्तिहरूको हत्या भएका विश्वसनीय आरोपहरू प्राप्त गरेका छौँ । 

यीमध्ये कम्तीमा ७२ हत्याहरू तालिबानले गर्दा भएको उनले बताए । 

'थुप्रै अवस्थामा मृत शरीरलाई सार्वजनिक रूपमा प्रदर्शन गरिनुले समस्या झनै जटील भएको देखिन्छ, ' उनले भने । 

संयुक्त राष्ट्र अधिकार प्रमुख मिशेल बासेलेको तर्फबाट परिषद्लाई मंगलबार गरेको अपडेटमा अल–नशिफले भने, 'जिहादी इस्लामिक स्टेट–खोरासन समूहका धेरै सदस्यहरू अर्थात् तालिबानको मुख्य शत्रुविरूद्ध पनि त्यस्तै आरोप लागेको छ । (एएफपी)


Author

थप समाचार
x