अमेरिकामा कोभिडको नयाँ प्रकार भेटियो
तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोनाभाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ । यूकेमा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो ।
बिरामी परेका २० वर्षका एक युवा हाल आइसोलेसनमा छन् । उनले पछिल्लो केही समयमा यात्रा गरेका थिएनन् । राज्यका अधिकारीहरूले आफूहरू उनले भेटघाट गरेकाहरूको खोजीमा लागेको र नयाँ प्रकारको अन्य सम्भावित सङ्क्रमण पहिचान गर्न लागिपरेको बताएका छन् ।
गत साता अमेरिकी स्वास्थ्य अधिकारीहरूले उक्त नयाँ भाइरस भेरिअन्ट अमेरिकामा आइसकेको हुनसक्ने विश्वास गरेको बताएका थिए । हालसम्म उक्त नयाँ भाइरस भेटिएको थुप्रै देशले पुष्टि गरिसकेका छन् ।
भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ । यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् । साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन् ।
खोप वितरणमा ढिलासुस्तीको आलोचना
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले कोरोनाभाइरस विरुद्धको खोप वितरण गर्ने कार्य समय तालिका भन्दा पछि परेको भन्दै ट्रम्प प्रशासनको आलोचना गरेका छन् । बाइडनले खोप अभियान 'बन्दोबस्तीका हिसाबले राष्ट्रका रूपमा आफूहरूले भोगेको सबैभन्दा कठिन चुनौती' रहेको बताए ।
ट्रम्प प्रशासनले डिसेम्बर सम्ममा २ करोड अमेरिकीहरूलाई खोप लगाउने लक्ष्य राखेको थियो । तर हालसम्म २१ लाख मानिसहरूले मात्रै खोप लगाएको अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले जनाएको छ ।
'ट्रम्प प्रशासनको खोप वितरण गर्ने योजना निकै पछाडि परेको छ,' मङ्गलवार बाइडनले भने । 'सही दिशामा अघि बढ्नका लागि म आकाश पाताल एक गर्नेछु ।' त्यसको प्रतिउत्तरमा ट्रम्पले एउटा ट्विट गर्दै सङ्घीय सरकारले खोप उपलब्ध गराएको अवस्थामा 'त्यसको वितरण गर्ने कार्य राज्यहरूको हुने' बताएका छन् ।
'हामीले खोप विकास मात्रै गरेका छैनौँ । पैसा हालेर सक्दो चाँडो राज्यहरूमा पुर्याएका छौँ,' ट्विटमा उनले भनेका छन् । बाइडनले आफ्नो कार्यकालको प्रथम एक सय दिनमा १० करोड अमेरिकीहरूलाई खोप लगाउने प्रतिबद्धता जनाएका छन् । उनले आगामी ज्यानुअरी २० तारिखमा पदभार ग्रहण गर्दै छन् ।
अमेरिकामा कोभिड-१९ बाट १ करोड ९४ लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । मृत्यु हुनेको सङ्ख्या ३३७,००० पुगेको छ । बाइडनले कोरियाली युद्धका बेला लागु गरिएको एउटा कानुनी प्रावधान प्रयोगमा ल्याएर निजी कम्पनीहरूलाई खोप विकास गर्ने कार्यलाई गति दिन बाध्य पार्ने बताएका छन् । बीबीसी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया