विश्व

पञ्जाबमा २२ किसान संगठनको गठबन्धनले निर्वाचनमा प्रतिस्पर्धा गर्ने

इकागज |
पुस १२, २०७८ सोमबार ७:२६ बजे

नयाँ दिल्ली, भारत- भारतको पञ्जाबमा आगामी वर्ष हुने विधानसभा निर्वाचनमा विभिन्न २२ किसान संगठन संयुक्त रूपमा प्रतिस्पर्धा गर्ने किसान आन्दोलनका अगुवाहरूले आइतबार बताएका छन् ।

केन्द्र सरकारले ल्याएको तीनवटा विवादास्पद कृषि कानूनको विरोधमा एक वर्षभन्दा लामो समय आन्दोलन गरेका किसान संगठनहरूले पञ्जाबको निर्बाचनमा आफ्नो नेतृत्व सशक्त बनाउने घोषणा गरेका हुन् ।


प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको हित विपरित भनिएका तीन कृषि कानून फिर्ता लिने घोषणा गरेपछि लामो समयसम्म सडक आन्दोलन गर्दै आएका किसान सङ्गठनले केही समय पहिले मात्र आन्दोलनलाई अन्त्य भएको घोषणा गरेका थिए ।

संयुक्त समाज मोर्चा नाम दिइएको किसान संगठनहरुको गठबन्धनले पञ्जाबमा ११७ विधानसभा सिटमा उम्मेदवारी दिने र उक्त मोर्चाको नेतृत्व भारतीय किसान युनियन राजेवालका बलवीर सिंह राजेवाललाई दिन सकिने एक किसान नेताले बताए । 

दिल्ली सीमामा भएको आन्दोलनपछि पञ्जाबका नागरिकको आफूहरूबाट धेरै अपेक्षा रहेकाले त्यसलाई पूरा गर्नका लागि निर्वाचनमा गठबन्धन गरेर जान लागेको र आफूहरूको सशक्त उपस्थिति रहने सिंहले बताए । उनले भने, 'नागरिकको आकाङ्क्षा पूरा गर्नका लागि २२ संगठनले मिलेर चुनाव लड्ने निर्णय गरेका हौं ।'

तर पञ्जाबको प्रभाबशाली किसान संगठन बीकेयू (एकता–उग्राहां) र किसान मजदुर संघर्ष समितिले चुनावमा प्रतिस्पर्धा नगर्ने बताउँदै आएका छन् । (सिन्ह्वा)


Author

थप समाचार
x