विश्व

इजरायलमा बर्डफ्लुबाट २ हजार सारस मरे

इकागज |
पुस १२, २०७८ सोमबार ९:१२ बजे

जेरुसेलम - उत्तरी इजरायलको एउटा आरक्षण क्षेत्रमा बर्डफ्लुबाट दुई हजार भन्दाबढी सारस मरेका छन् । बर्डफ्लुबाट अन्य १० हजार सारस संक्रमित भएको हुन सक्ने आरक्षका अधिकारीहरुले अनुमान गरेका छन् । इजरायलको प्रकृति तथा पार्क निकायका विज्ञ ओहाड ह्याट्सओफीका अनुसार हरेक वर्ष भाइरसबाट इजरायलमा हजाराैं चराचुरुङ्गी प्रभावित भएका छन् । तर, यस वर्षको महामारी अन्य वर्षको तुलनामा ठूलो भएको अर्का विज्ञ उरी नाभेह बताउँछन् । 

बर्डफ्लुबाट ठूलो संख्यामा चराहरुको मृत्यु भएको घटना ‘अस्वभाविक’ भएको नाभेहकाे भनाई छ । हरेक वर्षजस्तै यो वर्ष पनि अक्टोबर महिनायता अफ्रिका जाने क्रममा करिव एक लाख आप्रवासी सारस इजरायल पुगेका छन् । तीमध्ये अधिकांश सारसकाे एउटा बथान हुला उपत्यकामा रोकिएकाे थियाे । हुला उपत्यका अफ्रिका जाने आप्रवासी सारसका लागि एउटा ‘ट्रान्जिट पाेइन्ट’ हो ।  सो उपत्यकामा ४० हजारभन्दा बढी सारस रहेको अनुमान गरिएको छ ।


यसैबीच, उत्तरी इजरायलमा केही चल्लामा एच५एन१ भाइरस देखिएको इजरायलको कृषि मन्त्रालयले जनाउको छ । संक्रमण देखिएपछि मन्त्रालयले प्रभावित फार्मबाट अन्डा बिक्रीमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २००३ यता एच५एन१ भाइरसबाट इन्डोनेसिया, इजिप्ट र भियतनाममा ४५० जना भन्दाबढी मनिसको मृत्यु भएको छ । 


Author

थप समाचार
x