विश्व

सन् २०२१ का १० घटना : जलवायुदेखि कोभिड हुँदै ओलम्पिकसम्म

इकागज |
पुस १७, २०७८ शनिबार ७:४६ बजे

ग्रेगोरियन क्यालेन्डरको सन् २०२१ सकिएको छ । सन् २०२१ ले सन् २०२० को भन्दा केही कम पीडा दियो । अनि पछिल्ला १२ महिनामा केही सकारात्मक खबर पनि सुन्न पाइयो । हो, कोभिड–१९ महामारीको प्रभावले बिदा लिएन तर यसविरुद्ध लड्न विश्व अघिल्लो वर्षको भन्दा तुलनात्मक रूपमा बलियो देखियो । अनि केही खराब खबर पनि दियो, सन् २०२१ ले । वर्षभरिका ठूल्ठूला केही घटनामध्ये १० लाई सर्वाधिक चासो वा महत्वको घटनाका रूपमा यहाँ प्रस्तुत गरिएको छ :

१. जलवायु परिवर्तनविरुद्धको लडाइँमा चुकेको विश्व 
अगस्ट, २०२१ मा संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनसम्बन्धी एउटा रिपोर्ट सार्वजनिक गर्‍यो । चार हजार पृष्ठको सो रिपार्टको आशय यही थियो, कार्बन उत्सर्जन बढ्दै जाँदा विश्व खतरामा परेको छ । हुन त संयुक्त राष्ट्रसंघको रिपार्ट नपढेकाहरू पनि यो तथ्यसँग जानकार हुनैपर्ने हो । तर विश्वका ठूला औद्योगिक मुलुकहरू यो तथ्यप्रति कति गम्भीर छन् ? यसको लेखाजोखा वातावरणविद्हरूले गरेकै छन् । 


सन् २०२१ मा जलवायु परिवर्तनले निम्त्याएका संकट मुख्य मुद्दाका रूपमा देखापरिह्यो । किनभने जलवायु परिवर्तनकै साइड इफेक्ट भनिएका प्राकृतिक प्रकोपले धेरै मुलुकलाई दुःख दियो । विश्व राजनीतिको प्रमुख नेता अमेरिका किन बच्थ्यो र ! अमेरिकाको दक्षिणपूर्वी भू–भागलाई अकस्मातको बाढीले सतायो । यो रोग युरोपमा पनि देखापर्‍यो । जर्मनी, बेल्जियमजस्ता देशमा हजारौँ नागरिक हप्तौँसम्म बेघर भए । एसियामा मनसुनको वर्षाले नेपाल र भारतलाई पनि अत्यधिक असर गर्‍यो । ग्रिसमा डढेलोले ठूलो क्षति गर्‍यो। 

जलवायु परिवर्तनले ल्याएको वा ल्याउन सक्ने असरबारे स्कटल्यान्डको ग्लाग्सोमा विमर्श भयो । कोप–२६ नाम दिइएको सो सम्मेलनमा उपस्थित सबै देशले आ–आफ्नो हिसाबले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता जाहेर गरे । तर प्रतिबद्धता जाहेर गर्नु नतिजा दिनु होइन । यसो भन्नुको कारण, सन् २०२१ मा बढेको कार्बन उत्सर्जनको मात्रा हो । फेरि कोभिड–१९ महामारीबाट विश्व अर्थतन्त्र केही हदसम्म तंग्रेकाले पनि यस्तो भएको हो । कार्बन उत्सर्जन आगामी वर्ष वा सन् २०२२ मा झनै बढ्नेछ । त्यसैले भनिएको हो, जलवायु परिवर्तनसँग जुध्न विश्व चुकिरहेको छ । 

२. कोभिड–१९ विरुद्धको खोप 
सन् २०२१ मा कोभिड–१९ विरुद्धको खोप विकास र उत्पादन गर्ने दौड चल्यो । यसमा कोही सफल भए, कोही असफल । अनि कतिपयले विकास र उत्पादन गरेको खोपको विश्वसनीयतामाथि नै प्रश्न उठाइयो । जे होस्, जुन रफ्तारमा खोप विकास र उत्पादनमा काम भयो, यो आफैँमा असाधारण थियो । विगतमा कुनै पनि भाइरसविरुद्धको खोप विकास गर्न साधारणतया दसदेखि पन्ध्र वर्ष लाग्ने गरेको थियो । तर कोभिडविरुद्धको खोप एक वर्षभन्दा कम समयमा विकास गरियो । 

सन् २०२१ को सुरुवाती ११ महिनाभित्र विश्वभरमा करिब सात अर्ब ४० करोड डोज खोप लगाइसकिएको छ । करिब १८४ देशमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ भने र तीमध्ये ७० देशले विश्वभरका लागि खोप दान गरेका छन् । हुन त अझै पनि सबैतिर खोप पुगिसकेको छैन । कतिपय ठाउँमा मानिसले खोपलाई विश्वास गरिहालेका छैनन् । फेरि कोभिडको नयाँ भेरियन्टहरूले विश्वका धेरै देशलाई दुःख दिइरहेका छन् । पछिल्लो समय ओमिक्रोनले विश्वलाई आक्रान्त बनाएको छ । र सन् २०२१ सकिँदै गर्दा ओमिक्रोनको प्रभाव कुन हदसम्मको हुन्छ भनेर अनुमान लगाउन सकिएको छैन । तर जे होस् खोपको विकासले मानिसमा कोभिडविरुद्ध लड्ने आत्मविश्वास भने सिर्जना भएको छ ।

३. अमेरिकामा नयाँ राष्ट्रपति 
सन् २०२१ मा अमेरिकाले नयाँ राष्ट्रपति पायो । डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्दा जो बाइडन भित्रिए । जसले पटकपटक भनेका छन्, विश्व राजनीतिक मञ्चमा अमेरिकाको बलियो पुनरागमन भएको छ । राष्ट्रपति भइसकेपछि उनले आफ्ना मित्र देशहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देश दिने प्रयास गरेका छन् । उनले अमेरिकालाई जलवायुसम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठनमा फर्काएका छन् । अनि इरानसँगको परमाणु सम्बन्धी वार्तालाई फेरि सुरु गर्न तादरुकता देखाएका छन् । बाइडन नेतृत्वको अमेरिकाले अरब क्षेत्रको यमनमा भइरहेका युद्धबाट हात झिकेको छ । अझ योभन्दा महत्वपूर्ण निर्णय अफगानिस्तानबाट फौज फर्काउने रह्यो । 

विश्व राजनीतिक मुद्दा र विदेश नीतिमा बाइडन पूर्ववर्ती ट्रम्पभन्दा केही फरक देखिएका छन् । उनले चीनसँग वार्ता जारी राख्ने मनसाय व्यक्त गरेका छन् । यद्यपि कतिपय विषयमा भने उनले चलेका कदमले उति सारो ताली पाउन सकेनन् । जस्तै, बेलायतसँग मिलेर अस्ट्रेलियासँग गरेको रक्षासम्बन्धी नयाँ सम्झौता । यो सम्झौता गर्दा अमेरिकाले आफ्नै ‘अलाई’ फ्रान्सको चित्त दुखाएको आरोप लागेको छ । विभिन्न देशका लागि अमेरिकी राजदूत नियुक्त गर्न नसकेको भनेर खप्की पनि सहनु परिरहेको छ, बाइडनले । यीलगायत अन्य कारणले अमेरिकाभित्र बाइडनको लोकप्रियताको ग्राफ घटिरहेको बताइँदै छ । र कतिपयले के पनि अनुमान गर्न थालेका छन् भने अर्को निर्वाचनमा बाइडनलाई ट्रम्पले कडा टक्कर दिनेछन् । 

४. लोकतान्त्रिक व्यवस्थामाथि उठेको प्रश्न 
सन् २०२१ मा पनि लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठ्न छाडेन । राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेका ट्रम्पका समर्थकले देखाएको रवैयाले अमेरिकी व्यवस्थामाथि नै प्रश्न खडा गर्‍यो । अमेरिकी लोकतान्त्रिक व्यवस्थामै ह्रास आएको टिप्पणी पनि गरियो । उता छिमेकी भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारका क्रियाकलापले पनि लोकतन्त्रबारे नकारात्मकता बढाएको बताइने गरिएको छ । ‘रिपोटर्स विदआउट बोर्डर्स’ले त भारतलाई पत्रकारका लागि सबैभन्दा खतरनाक देश भनेको छ । दक्षिण अमेरिकाको ब्राजिलमा पनि लोकतन्त्रमाथि धावा बोलिएको छ ।

त्यहाँका राष्ट्रपति जैर बोलसोनारो लोकतान्त्रिक व्यवस्थाकै प्रयोग गरेर देशको सर्वोच्च पदमा पुगे पनि आफू बसिरहेको घर भत्काउन लागिपरेका छन् । सन् २०२१ मा बर्मा, चाड, माली, सुडान लगायतका देशमा पनि लोकतान्त्रिक सरकारलाई अपदस्थ गरिएको छ ।

सन् २०२१ मा विश्वका कयौँ देशमा रहेका अधिनायकवादी सरकारहरूले आफूलाई थप शक्तिशाली बनाए । रुसमा भ्लादिमिर पुटिनलाई चुनौती दिने विपक्षीहरूलाई जेल हाल्ने क्रम जारी छ । रुसको छिमेकी बेलारुसमा अलेक्जेन्डर लुकासेन्कोले लोकतन्त्रवादीहरूको आन्दोलनलाई दबाएका छन् । चीनले हङकङमाथि पकड बलियो बनाएको छ । क्युबामा भएको आन्दोलनमा हजारौँ नागरिकलाई गिरफ्तार गरियो । 

विश्वका कयौँ भागमा लोकतन्त्रविरुद्ध धावा बोलिँदा अमेरिकाले आफूलाई केही हदसम्म सक्रिय बनाएको छ । आफूलाई लोकतन्त्रको च्याम्पियन मान्ने अमेरिकाले वर्षको उत्तर्राद्धमा ‘डेमोक्रेसी समिट’को आयोजना गर्‍यो । भर्चुअल माध्यमबाट गरिएको सम्मेलनको उदेश्य थियो, विश्वमा लोकतान्त्रिक व्यवस्थालाई सँगालेर लैजान अमेरिका तयार छ । तर यो सम्मेलनले कस्तो सन्देश दिएको छ वा यसले दिएको सन्देश सुनिएको छ वा छैन भन्ने प्रस्ट छैन । 

५. गृह युद्धमा फसेको इथियोपिया
अफ्रिकाको १० औँ ठूलो देश हो, इथियोपिया । र यसका राष्ट्रपति हुन्, एबी एहमद । जसले सन् २०१९ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । नोबेल शान्ति पुरस्कार पाएको दुई वर्षपछि एहमद आफ्नो देशमा सुरु भएको गृहयुद्धको नेतृत्व गरिरहेका छन् । उनी नेतृत्वको इथियोपियाली केन्द्रीय सरकारी फौज टिगराय प्रान्तको टीपीएलएफ नाम गरेको एक राजनीतिक तथा सशस्त्र समूहसँग युद्ध लडिरहेको छ । कुनै बेला टीपीएलएफ इथियोपियाको केन्द्रीय सत्तामा थियो । तर एहमद सत्तामा पुगेपछि टीपीएलएफ किनारा लाग्यो । 

राजनीतिक द्वन्द्व युद्धमा परिणत भएपछि इथियोपिया गृहयुद्धमा फसेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इथियोपियाको केन्द्रीय फौजले टीपीएलएफविरुद्धको लडाइँ सजिलै जित्नेवाला छैन । बरु टीपीएलएफले जिुबटीबाट इथियोपियाको राजधानी एडिस अब्बातर्फको ‘सप्लाई रुट’ बन्द गरिदिने धम्की दिएको छ । र त्यही योजनामा अघि बढिरहेको छ । 

अहमद र टीपीएलएफबीचको टकराव तथा जारी युद्धलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले प्रयास गरिरहेको छ । तर यस्तो प्रयासले सफलता पाउन सकिरहेको छैन । करिब २० लाख नागरिकलाई बेघर बनाइसकेको यो युद्धले इथियोपियामा रहेको जातीय द्वन्द्वलाई बढावा दिने बताइएको छ । किनभने एहमद र टिगरायबीचको द्वन्द्वको मूल जरो जातीयतासँग जोडिएको छ । 

६. काबुल फर्किएको तालिबान 
अफगानिस्तानमा बीस वर्षे युद्ध सकिनासाथ तालिबान काबुल फर्कियो । सन् २०२० मै तत्कालीन अमेरिकी राष्ट्रपति ट्रम्पले तालिबानसँग समझदारी गरेका थिए, जसअनुसार मे, २०२१ सम्ममा सबै अमेरिकी फौज घर फर्कनुपर्ने थियो । अमेरिकामा राष्ट्रपति फेरिए, तर तालिबानसँगको समझदारीलाई धोका दिइएन ।

केही ढिलो गरी अमेरिकाले अफगानिस्तानबाट आफ्नो फौज फर्कायो । सेप्टेम्बर ११ मा अमेरिकी फोजले पूर्णरूपमा अफगानिस्तान छाड्यो । यसअघि नै काुबल तालिबानको कब्जामा परिसकेको थियो । अगस्ट १५ मा तालिबानका लडाकु काबुल सहरको गल्ली गल्लीमा थिए । तालिबानले अमेरिकालाई अगस्ट ३१ सम्ममा आफ्ना नागरिक अफगानिस्तानबाट लग्न समयसीमा तोकेको थियो । अमेरिकीसँगै करिब तीन लाख अफगानीले पनि अफगानिस्तान छाडे । आफ्नो देश छाड्न प्रयास गरेका अफगानी नागरिकका तस्बिरहरूले विदेशी अखबारहरूमा स्थान पाइरहे । 

अमेरिकी राष्ट्रपतिले अफगानिस्तान युद्ध सफलतापूर्वक सम्पन्न भएको त भन्न सकेनन् तर त्यहाँबाट आफ्ना फौज र नागरिकलाई घर फर्काउन आफू सफल भएको भने भन्न भ्याए । दुई दशक लामो युद्धमा अमेरिकाले करिब साढे दुई खर्ब अमेरिकी डलर खर्च गरेको बताइएको छ । युद्धमा अमेरिकी फौजको २५ सयभन्दा बढी सदस्यले ज्यान गुमाए । थप चार हजार अमेरिकी अफगानिस्तानमा तालिबानको शिकार बने । तीमध्ये धेरैजसो भाडाका सैनिक थिए भनिन्छ । उता मृत्य हुने अफगानी नागरिकको संख्या भने एक लाख ७० हजार नाघेको तथ्यांक प्रस्तुत गरिएको छ । 

७. थाकेको ‘सप्लाई चेन’ 
‘सप्लाई चेन’ अंग्रेजी शब्द भए पनि सन् २०२१ मा विश्वभर यसको प्रयोग भयो । यसको कारण कोभिड–१९ सँग जोडिएको छ । कोभिडका कारण चीन लगायतका देशमा कारखाना बन्द भए । जसले गर्दा औषधीदेखि लत्ता कपडासम्मको उपलब्धतामा ह्रास आयो । विश्वभर हरेक वस्तुको अभाव सिर्जना भयो । त्यसैले भनियो, सप्लाई चेनमा असर पर्‍यो । 

फेरि मार्च महिनामा सुइज नहरमा एक पानी जहाज अड्किएपछि सप्लाई चेनमाथि थप असर पर्‍यो । सन् २०२१ मै ‘सेमिकन्डक्टर चिप्स’को अभाव सिर्जना भयो । गाडीदेखि कम्प्युटरसम्मको उत्पादनमा नभई नहुने चिप्सको अभावले मोबाइल फोन, कार लगायतको उत्पादनमा पनि कमी आयो । सन् २०२१ मा अमेरिका लगायतका देशमा कामदारको समेत अभाव भयो । कोभिड महामारीका कारण अमेरिकामा मात्रै ५० लाख कामदारको अभाव भएको खबर आयो । जे होस्, कोभिडका कारण सप्लाई चेनमा असर पर्दा विश्वभर नै मोबाइल फोन, ल्यापटप लगायतका साधनको मूल्य वृद्धि भयो । 

८. चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष 
जुलाई, २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी एक सयौँ वर्ष पुग्यो । सन् १९४९ देखि चीनमा सत्ता सञ्चालन गरिरहेको यो पार्टीमा चिनियाँ राष्ट्रपति सी चिनफिङ थप बलियो बने । पार्टी र देशको सर्वमान्य सर्वोच्च नेताका रूपमा स्थापित भएका सीले आउँदा वर्षमा चीनलाई कसरी अघि बढाउँछन् भन्ने कुराले पनि विश्वको राजनीति कतातिर मोडिन्छ भन्ने निर्क्यौल गर्नेछ । 

चिनियाँ कम्युनिस्ट पार्टी एक सय वर्ष पुगेको अवसरमा तियानमेन स्काएरमा ठूलो र्‍याली आयोजना गरिएको थियो । जहाँ सीसहित ७० हजार चिनियाँ उपस्थित भएका थिए । जुलाई १ मा राष्ट्रको नाममा सम्बोधन गरेका सीले अब चीनलाई कुनै पनि शक्तिले हेप्न नसक्ने बताए । चीन विश्वकै शक्तिशाली देश बनेकाले उसमाथि कसैले पनि आँखा उठाउन नसक्ने सीको दाबी थियो । त्यहीबेला उनले हङकङ र ताइवान नितान्त चीनको भूभाग रहेकाले यस्तो तथ्यमाथि कसैले पनि धावा बोल्न नसक्ने पनि बताएका थिए । सीले चिनियाँ नागरिकको प्रतिव्यक्ति आय सन् २०१० को भन्दा ठ्याक्कै एक सय प्रतिशतले बढेकाले सन्तोक व्यक्त गरेका थिए । 

९. जर्मनीमा अन्त्य भएको मर्केल युग 
सन् २०२१ मै जर्मनीले नयाँ चान्सलर पायो । गएको १६ वर्ष जर्मन सत्ता हाकेकी एंगेला मर्केलले बिदा लिएपछि ६३ वर्षीय ओलाफ स्कोल्ज नयाँ चान्सलर बने । मर्केलको पार्टी क्रिस्टियन डेमोक्रेटिक युनियनले निर्वाचनमा लज्जास्पद पराजय भोगेपछि स्कोल्ज र उनका साथीहरू सत्तामा पुगे । स्कोल्जको सोसियल डेमोक्र्याट्स जर्मनीकै सबैभन्दा ठूलो पार्टीका रूपमा उदायो । मर्केलले आफू सन् २०२१ पछि कुनै पनि पदमा नबस्ने बताएपछि कुनै बेला उनी नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री रहेका स्कोल्ज जर्मनीको नयाँ चान्सलर बने । 

१०. ओलम्पिक 
जापानको राजधानी टोकियोले सन् २०२० मै विश्व खेलकुदको महाकुम्भ आयोजना गर्नुपर्ने थियो । तर कोभिड–१९ महामारीका कारण ओलम्पिक एक वर्ष ढिलो गरी आयोजना गरियो । जुलाई २३ मा उद्घाटन गरिएको ओलम्पिकमा विश्वभर रहेका शरणार्थीहरूको टिमसहित दुई सय ६ टिमले भाग लिए । यो ओलम्पिकमा ११ हजार ६ सय ५६ खेलाडीले कुल तीन सय ४० स्वर्ण पदक, तीन सय ३८ रजत पदक र चार सय दुई कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । सर्वाधिक पदक जित्ने टिम वा देश अमेरिका बन्यो । अमेरिकाले एक सय १३ पदक जित्न सफल भयो, जसमा ३९ पदक स्वर्ण थिए । स्वर्ण जित्ने मामलामा अमेरिकालाई कडा टक्कर दिएको चीन कुल पदक संख्यामा भने धेरै पछाडि पर्‍यो । पदक तालिकामा दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण जित्दा कुल ८८ पदक उसको पोल्टामा पर्‍यो । स्वर्ण जित्ने दौडमा आयोजक जापान, बेलायत र रुस क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहे । (एजेन्सीको सहयोगमा ।)

  
 
 
   

 


Author

थप समाचार
x