विश्व

दक्षिण अफ्रिकाको संसद् भवनमा भएको आगलागीको छानबिन सुरु

इकागज |
पुस १९, २०७८ सोमबार ६:२८ बजे

केपटाउन- दक्षिण अफ्रिको संसद् भवनमा भएको आगलागीको घटनाको छानबिन सुरु भएको छ । देशको सबैभन्दा पुरानो र दोस्रो ठूलो सहर केपटाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतबार आगलागी भएको थियो । 

अग्निनियन्त्रक, स्वयम्सेवक, सुरक्षाकर्मीलगायतले भवनमा लागेको आगो नियन्त्रणमा लिएपछि अहिले छानबिन सुरु भएको हो । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आइतबारदेखि नै घटनाका बारेमा छानबिन सुरु भइसकेको जानकारी दिए । 


छानबिनका लागि सरोकारवाला उच्च अधिकारीहरूसहितको टोली परिचालन गरिसकिएको पत्रकारहरूलाई बताए । उनले घटनाका बारेमा गम्भीर तरिकाले छानबिन गरी दोषी पत्ता लगाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । 

संसद् भवनमा भएको आगलागीका बारेमा केही व्यक्तिमाथि प्रश्न उठेको र त्यसको उचित उत्तर खोजिने उनको भनाइ थियो । 

'हामीले घटनाका बारेमा यथार्थ थाहा पाउन गहिरो छानबिन गर्न आवश्यक छ, साथै आगामी दिनमा यस्ता घटना नहुनका लागि पनि दोषीलाई कारबाही हुनुपर्दछ' उनले भने ।  

आगलागीबाट क्षतिग्रस्त संसद् भवन अगाडि पत्रकारहरूसँग कुराकानी गर्दै उनले संसद्को सभा हलबाट आगलागी सुरु भएको पाइएको जानकारी दिए । 

स्थानीय समयअनुसार बिहान ५.०३ मा आगलागी सुरु भएको प्रारम्भिक विवरणबाट पत्ता लागेको उनले बताए । 

आगलागीका कारण अहिलेसम्म यकिन हुन नसकेको पनि उनले जानकारी दिए । (एएफपी)


Author

थप समाचार
x