विश्व

अफगानिस्तानमा शान्ति वार्ता सुरु

इकागज |
पुस १९, २०७७ आइतबार २०:५७ बजे

काबुल :  अफगानिस्तानमा सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता सुरु भएको छ । राजनीतिक प्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा वार्ता सुरु भएको हो । महिनौंदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट झिनो सफलता हात लागेको छ, तर दुबै पक्षबीच गत वर्षका वार्ताहरुका आगामी वार्ताका लागि एजेन्डामा सहमति भएको छ जसलाई सुखद मानिएको छ । 

अफगान सरकारका वार्ताकारहरूले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्‍न विशेष रुपमा जोड दिनेछन् । तालिबानी समूहले भने सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।


एक जना अफगान सरकारी वार्ताकार गुलाम फारुख मजरोहले एएफपीसँग भने, “वार्ता धेरै जटिल र समय लाग्ने किसिमको हुने निश्‍चित छ । तर हामी जतिसक्दो चाँडो सकारात्मक नतिजा प्राप्त हुनेमा आशावादी छौं किनभने मानिसहरु यस रक्तपातपूर्ण युध्दबाट थकित भइसकेका छन् ।” तर तालिबान समूहले भने कुनै टिप्पणी गर्न चाहेन । 

महिनौंदेखिको ढिलाई पश्चात संघर्षरत पक्षहरुबीच पहिलो प्रत्यक्ष वार्ता सन् २०२० को सेप्टेम्बर महिनामा सुरु भएको थियो, तर छलफलको आधारभूत ढाँचा र धार्मिक व्याख्याको विवादले वार्तामा गतिरोध उत्पन्‍न भएको थियो । अमेरिकी घनीभूत कुटनीतिक प्रयत्न पश्‍चात् दुवै पक्षबीच वार्तामा बस्‍न पुनः सहमति जुटेको थियो ।

गत वर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो । अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता सुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारीहरू, अधिकारवादीहरू र पत्रकारहरू लक्षित आक्रमण भइरहेका छन् । 

काबुल प्रान्तका डेपुटी गभर्नर, पाँच जना पत्रकार र एक जना चुनाव अधिकारवादीको काबुल र अन्य स्थानमा भएका हमलामा ज्यान गइसकेको छ । अफगान अधिकारीहरूले यी आक्रमणमा तालिबानीको संलग्‍नता रहेको दाबी गरिरहेका छन् । तर अधिकांश यी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइआएको छ ।

तालिबानले सन् २०२० मा देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको अफगानिस्तानका गुप्तचर निकाय प्रमुख अहमद जिया सिराजले बताए । गत वर्षको पहिलो नौ महिनामा दुई हजार १७७ जनाको हत्या भएको र तीन हजार ८२२ जना घाइते भएका थिए । (रासस)
 


Author

थप समाचार
x