विश्व

भारी हिमपात र वर्षापछि अफगानिस्तानमा आपत्‌कालीन अवस्थाको घोषणा

इकागज |
पुस २२, २०७८ बिहीबार ६:५१ बजे

काबुल,अफगानिस्तान - भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  वर्षा र हिमपातका कारण आउनसक्ने संकटको सामना गर्न थप तयारीका लागि विपद् व्यवस्थापन राज्य मन्त्रालयका अधिकारीहरूले प्रभावित क्षेत्रका प्रदेश अधिकारीहरूलाई निर्देशन दिएको खामा प्रेसले जनाएको छ ।

हिउँ र वर्षाको समयमा नागरिकहरूलाई सहयोग गर्न प्रान्तहरूमा सामग्रीहरू पठाइएको र तिनीहरूको वितरण भइरहेको मन्त्रालयका मुहम्मद अमिन मुबारिजले बताए । ३४ प्रान्तमध्ये अफगानिस्तानका ३२ प्रान्तमा निरन्तरको हिउँ र पानीको वर्षा हुँदा ठाउँठाउँमा बाटोहरू अवरूद्ध बनेका बताइएको छ । अविरल वर्षाका कारण केही स्थानमा बाढी पहिरो गएको हो । 


यसैबीच भीषण हिमपातका कारण बन्द भएका सेवाहरूलाई पुनः सञ्चालनमा ल्याउन जनश्रम मन्त्रालय र अन्य केही निजी कम्पनीहरू पनि विपद् व्यवस्थापन अधिकारीहरूसँग सम्पर्कमा रहेको पनि मुबारिजले बताए । काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने सलाङ राजमार्ग भारी हिमपात र हावाका कारण पूर्णरूपमा अवरूद्ध बनेको खामा प्रेसले जनाएको छ । 


Author

थप समाचार
x