विश्व

कोरोनाले १० महिनापछि विद्यालय खुल्‍दा खुशी छन् केन्याली

इकागज |
पुस २१, २०७७ मंगलबार ७:११ बजे

कोरोनाभाइरस महामारीको कारण १० महिना अगाडि बन्द भएका विद्यालय सोमबार खुलेपछि केन्याका लाखौं विद्यार्थी पहिलो पटक विद्यालयमा उपस्थित भै शिक्षा आर्जन गरेका छन् । 

विद्यार्थीहरूले विद्यालय फर्किंदा पहिलेजस्तो कुनै अवरोधविना कक्षामा भने पुग्न सकेनन् उनीहरूलाई विद्यालय छिर्नु पहिले सामाजिक दूरी कायम गर्ने, तापक्रम जाँच गर्ने तथा सुरक्षाका लागि मुखमा मास्क लगाउन निर्देशन गरिएको थियो । 


लामो समयपछि आफ्ना साथीहरूसँग विद्यालयमा भेट भएका विद्यार्थी कोभिड-१९ को जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्छ भन्नेमा सचेत देखिएका छन् ।

लामो समय विद्यालय बन्द भएका कारण आफ्नो शैक्षिक सत्र गुम्ने हो कि भनी चिन्तित रहेका बालबालिका र उनीहरूका अभिभावकले विद्यालयमा आफ्ना नानीबाबुहरूलाई पठाउन पाएकोमा खुशीसँगै भय पनि व्यक्त गरेका पाइएको छ । सरकारले देशभर विद्यालय खोल्नेगरी गरेको निर्णयबाट बालबालिका र अभिभावकले राहत महशुस गरेको देखिन्थे ।

'अभिभावकका रूपमा म खुशी छु किनकि बच्चाहरू विद्यालयमा फर्किए', एक विद्यार्थीकी अविभावक हिल्दा मुसिम्बीले भने ।

उहाँले थप्नुभयो, 'यतिवेला हामी धेरै डरले ग्रस्त भएका छौं किनकि हामीलाई थाहा छैन कि विदालयका अन्य बच्चाहरूलाई भाइरस सङ्क्रमण छ कि छैन वा शिक्षकहरूलाई भाइरस छ कि छैन, वा विद्यालयमा सहयोगी कर्मचारीले पनि भाइरस परीक्षण गराएका छन् कि छैनन् ।' उनले भने, 'प्रशासनले बन्द विद्यालयलाई खोल्ने निर्णय सकारात्मक छ तर विद्यार्थीको स्वास्थ्यबारे बढी सम्वेदनशील हुनु पनि जरुरी हुनेछ ।' 

केन्याले मार्च २०२० देखि महामारीका कारण विद्यालयहरू बन्द गरेको थियो । कोरोनाभाइरस सङ्क्रमित व्यक्ति भेटिन थालेपछि बन्द विद्यालयलाई आंशिक रूपमा अक्टोबरमा कक्षा सञ्चालन गरिएको थियो ।

सरकारको विद्यालय खोल्ने निर्णयसँगै सबै प्राथमिक र उच्च माध्यमिक विद्यार्थी सोमबार फर्किए भने विश्वविद्यालय र कलेजहरू खोल्न प्रशासनले उनीहरूलाई मार्ग प्रशस्त गरेको छ । 

'हामी विद्यालयमा फर्कंदा खुसी छौं, त्यो लामो विदा थियो,' नैरोबीको कासारानी प्राथमिक विद्यालयका विद्यार्थी मर्सी नेडेरीले भने । 

भीडको कक्षा कोठामा सामाजिक दूरी कायम गर्न सङ्घर्ष गर्दै शिक्षकहरूले फेसमास्क नलगाएको विद्यार्थीहरूलाई घर फर्काएका देखिन्थे भने विद्यालयमा एक व्यक्तिदेखि अर्को व्यक्तिको दूरी कायम गर्न शिक्षक तथा कर्मचारीहरू व्यस्थ थिए ।  

'यो गाह्रो छ किनकि हामीसँग बच्चाहरू एक अर्कादेखि टाढा राख्नका लागि पर्याप्त डेस्क छैन तर हामी यथाशक्य कोशिश गरिरहेका छौं,' भोई प्राइमरी विद्यालयका प्रधानाध्यपक मभुर्य मुम्बियाले भने ।

अक्टोबरमा जब विद्यालयहरू आंशिक रूपमा पुनः सञ्चालनमा आएपनि शहरी र प्रभावित क्षेत्रमा विद्यार्थीहरू र शिक्षकहरू आफै बिरामी परेका र सङ्क्रमण फैलिने डरमा अनलाइन कक्षा सञ्चालन गरिएको थियो । तर यो गरीब अफ्रिकी मुलुकमा प्रविधिका कारण अनलाइन कक्षा प्रभावकारी हुन सकेका थिएनन् । 

केन्यामा प्रकोप सुरु भएदेखि करिब एक लाख कोभिड-१९ सङ्क्रमित बनेका थिए भने एक हजार ६०० व्यक्तिको मृत्यु भएको थियो । अक्टोबरपछि सङ्क्रमण दरमा २० प्रतिशतले कमी आएको छ । 

स्वास्थमन्त्रीले अभिभावकले बच्चाहरूलाई ढुक्क भएर विद्यालय पठाउन अनुरोध गरे । 'हामीले पर्याप्त सुरक्षा उपायहरू अपनाएका छौं उनीहरूको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिन्छ ।' कोभिड-१९ विरुद्धको खोप पनि छिट्टै सर्वसाधारणका लागि उपलब्ध गराइने स्वास्थ्यमन्त्रीले बताए । 

राष्ट्रपति उहुरु केन्याट्टाले यस साताको अन्त्यमा देशमा स्वास्थ्य समस्याका कारण जारी निशेधाज्ञालाई आगामी मार्च १२सम्मका लागि राति १० बजेदेखि बिहान चार बजेसम्म बढाइएको जानकारी गराएका थिए । केन्यालीहरू गत वर्ष मार्च २५ देखि रातको समय निशेधाज्ञाको पालना गर्दै आएका छन् । (एएफपी)


Author

थप समाचार
x