विश्व

भारतले दुई भ्याक्सिनलाई दियो अनुमति, मोदीले गरे निर्णायक मोडको व्याख्या

इकागज |
पुस २१, २०७७ मंगलबार ७:३८ बजे

सांकेतिक तस्बिर

काठमाडौं : बढ्दो कोभिड-१९ को महामारी रोकथामको लागि भारतले दुई भ्याक्सिनलाई प्रयोग गर्न अनुमति दिएको छ । भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले आइतबार 'भारत बायोटेक' र 'अक्सफोर्ड / एस्ट्राजेनेका' ले बनाएको भ्याक्सिनलाई आकस्मिक प्रयोजन लागि स्वीकृत गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई 'एउटा निर्णायक मोड' को रूपमा व्याख्या गरे । भारतले यसवर्ष ३० करोड भारतीयलाई उक्त खोप लगाइदिने लक्ष्य लिएको छ । भारत अहिले विश्वकै दोस्रो धेरै कोभिड संक्रमित भएको देश हो । यहाँ कोभिड संक्रमितको संख्या एक करोड तीन लाख नाघेको छ । त्यस्तै कोभिड १९ का कारण १ लाख पचास हजारको ज्यान गइसकेको छ ।


भारतले यो खोप देशभर वितरण गर्नका लागि नब्बे हजारभन्दा बादी स्वास्थ्य कर्मचारी खटाएको छ । भारतको औषधि महानियन्त्रकले पनि यो खोप सुरक्षित रहेको जनाएको छ । तर प्रतिपक्ष र केही चिकित्सकहरू यो खोपलाई स्वीकृत गर्ने प्रकृया पारदर्शी नभएको भन्दै आलोचना गरेका छन् ।

मुम्बईका संक्रामक रोग अन्वेषक डा स्वप्निल परीकका अनुसार चिकित्सकहरू अफ्ठेरो परिस्थितीमा छन् । 'नियामक बाधाहरू हटाएर जतिसक्दो चाँडो खोप प्रयोग गर्नुपर्छ,' उनी भन्छन्, 'तर सरकार र नियन्त्रकहरूले यो खोप कसरी छनौट गर्यो भन्ने प्रकृया भने पारदर्शी हुनुपर्छ । किनकि उनीहरूले यसो नगरे मानिसको विश्वासमा चोट पर्न सक्छ ।'

अक्सफोर्ड/एस्ट्राजेनेका भ्याक्सिनको निर्माण भारतकै सेरुम इन्स्टिट्युटले गर्दैछ । महिनामा ५० मिलियन औषधिका डोज उत्पादन गर्न सक्ने इन्स्टिट्युटले जनाएको छ । इन्स्टिट्युटका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले गत नोभेम्बरमा बीबीसीलाई अन्तर्वार्ता दिँदै स्वीकृति मिलेमा महिनामा सय मिलियन औषधिका डोज उत्पादन गर्न सक्ने बताएका थिए ।

इन्स्टिट्युटले उत्पादन गर्ने 'कोभिसिल्ड' नामक औषधि ४ देखि १२ हप्ताको बीचमा दिइन्छ । त्यस्तै यसलाई घरेलु फ्रिजमा २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सुरक्षित राख्‍न सकिन्छ ।

(बीबीसीमा प्रकाशित समाचारको अनुवाद सुप्रिया राजभण्डारीले गरेकी हुन्)  


Author

थप समाचार
x