कोभिड–१९ सङ्क्रमण वृद्धि भए पनि पाकिस्तानले तत्काल विद्यालय बन्द नगर्ने
इस्लामाबाद - पाकिस्तानमा कोभिड–१९ सङ्क्रमण दर उच्च देखिए पनि तत्काल विद्यालयहरू बन्द गर्ने सोचमा सरकार देखिएको छैन । तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे मङ्गलबार सञ्चारमाध्यमले मन्त्रालय स्रोतलाई उद्धृत गरी समाचार लेखेका छन् ।
'संघीय सरकारलाई देशमा बढ्दो कोभिड–१९ सङ्क्रमणका घटनाको बारेमा जानकारी छ तर तत्काल पाकिस्तानमा पुनः लकडाउन वा विद्यालय बन्द गर्ने योजना बनाएको छैन,' मन्त्रिपरिषद् बैठक पश्चात पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले भने ।
मुलुकमा कोभिड–१९ सङ्क्रमण दर दोब्बर भएको जानकारी संघीय मन्त्रालयलाई जानकारी रहेको तर विद्यालय बन्दको सम्भावना तत्कालका लागि नरहेको पाकिस्तानी टेलिभिजन जियो न्यूजसँग बोल्दै मन्त्री चौधरीले बताए ।
उनले भने, 'उच्च सङ्क्रमण दरका बावजुद पनि हामीले पाकिस्तानमा लकडाउन वा विद्यालय बन्द गर्ने सोच बनाएका छैनौँ । अर्को लकडाउनको बोझ हाम्रो अर्थतन्त्रले बोक्न सक्दैन ।'
देशले कोरोनाभाइरसको सामना गर्न सक्ने कुरामा जोड दिँदै चौधरीले सरकारले तालाबन्दी नलगाउने तर परिस्थितिको अनुगमन जारी राख्ने बताए । कोरोनाभाइरस फैलिन नदिन देशका जनतालाई मास्क प्रयोग गर्न पनि मन्त्रीले आग्रह गरे।
चौधरीले पाकिस्तानले ‘उत्कृष्ट’ कोभिड–१९ खोप अभियान चलाइरहेको पनि बताए । संघीय सरकारले खोपमा दुई अर्ब अमेरिकी डलर लगानी गरेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया