विश्व

भारतमा २४ घण्टामा दुई लाख ६४ हजार बढीमा काेभिड संक्रमण, ३१५ काे मृत्यु

इकागज |
पुस ३०, २०७८ शुक्रबार १६:१७ बजे

फाइल फाेटाे

भारत- भारतमा गत २४ घण्टामा काेभिडबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएकाे केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल संक्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ । 

सोही अवधिमा थप ३१५ जनाको काेभिड संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा काेभिडका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले जनाएकाे छ । 


हाल भारतमा पाँच हजार ७५३ ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या बाह्र लाख ७२ हजार ७३ रहेका छन् । गएको २४ घण्टामा मात्र एक लाख ५४ हजार ५४२ जना सक्रिय संक्रमित थपिएका छन् ।

भारतमा एक लाख ९ हजार ३४५ काेभिडबाट मुक्त भएका छन् । यसैसँगै काेभिड सुरु भएयता हालसम्म तीन करोड ४८ लाख २४ हजार ७०६ जनालाई काेभिड संक्रमण निको भएको छ ।  काेभिड निको हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ । 

काेभिड सुरु भएदेखि हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको काेभिड परीक्षण भएको छ । सन् २०२१ को जनवरी १६ बाट काेभिड विरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५५ करोड ३९ लाखभन्दा बढी डोज खोप लगाइएको छ । रासस


Author

थप समाचार
x