जिहादी समूहको आक्रमणमा सोमालियाली सरकारका प्रवक्ता घाइते
मोगादिशु- अल–शाबाब जिहादी समूहको आक्रमणमा परी आइतबार एक सोमालियाली सरकारका प्रवक्ता घाइते भएको यहाँको प्रहरीले बताएको छ । यद्यपि उनलाई ठूलो चोट भने नलागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सोमालियाली संघीय सरकारका प्रवक्ता आतंकवादी आक्रमणमा घाइते हुनुभएको छ, उहाँको चोट गम्भीर छैन । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।”
केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बताएअनुसार आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोट गर्नुअघि प्रवक्ताको कारमा चढेर आंशिक रूपमा गाडी नष्ट गर्ने प्रयास गरेका थिए ।
आक्रमणको घटनास्थलका एक प्रहरी मोहमद फराहले भने, “एक आत्मघाती आक्रमणकारी मोहमद इब्राहिमका प्रवक्तालाई बोकेको गाडीमाथि जाइलाग्यो । अनि केही समयमा विस्फोट भयो ।
प्रवक्तालाई हल्का चोट लागे पनि भाग्यबस ज्यान जोगिएको छ ।”
घटनामा अन्य दुई जना घाइते भएका बताइएको छ ।
आक्रमणको अल–शबाब समूहले जिम्मेवारी लिएको छ ।
मोहमद इब्राहिम मोलिमु एक वर्षभन्दा बढी समयदेखि प्रधानमन्त्रीका प्रवक्ता र सल्लाहकार रहेका छन् । यसअघि बीबीसीका समेत सम्वाददाता रहेका उनले सोमालियाली पत्रकार संघको पूर्व महासचिवका रूपमासमेत काम गरेका छन् । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया