विश्व

जापानको टोकियो क्षेत्रमा स‌ंकटकाल घोषणा

इकागज |
पुस २३, २०७७ बिहीबार १९:५६ बजे

टोकियो : कोभिड-१९ भाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको हो ।  

प्रधानमन्त्री योशिहिडा सुगाले संकटको उच्चतम अवस्थामा पुग्‍न लागेकाले उच्च सतर्कता अपनाउनका लागि संकटकाल लगाउनु परेको बताए । अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको संकटकाल शुक्रबारदेखि लागु हुनेछ । संकटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरूमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुनेछ । 


प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरूलाई विषेश अनुरोध गरेका छन् । टेकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवाहरूलाई विषेश आग्रह गरेका हुन् ।  

“सरकारको आग्रहलाई कृपया पालना गरिदिनु होला, तपाईसँगै तपाईको बुवा आमा, हजुर बुवा हजुर आमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,” उनले भने । सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र विक्रेताले उनीहरुले माग गरेको ठाउँमा पुर्‍याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्‍चालन गर्न आग्रह गरेको छ ।  

जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका छन । देशभरी सात हजार ४९० जना सङ्क्रमित थपिएको अधिकारीहरूले जनाएका छन् ।   
 
जापानमा अहिलेसम्म तीन हजार ७०० भन्दा बढी कोभिड-१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । (रासस)
 


Author

थप समाचार
x