शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने ट्रम्पको प्रतिबद्धता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'व्यवस्थित ढङ्गले' शक्ति हस्तान्तरण गर्ने वाचा गरेका छन् । उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा हुलदङ्गा गरेको एक दिनपछि ट्रम्पले त्यसो भनेका छन् । ट्विटरमा १२ घण्टे प्रतिबन्ध झेलेपछि भिडिओमार्फत् सोही सामाजिक सञ्जालमा देखिएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले दङ्गाकारीहरूको आलोचना गर्दै 'जघन्य हमला' बताएका थिए ।
आफ्नो कार्यकाल सकिन लागि १३ दिन मात्र बाँकी छँदा वरिष्ठ डेमोक्र्याटहरूले उनलाई पदबाट हटाउने कुरा गरिरहँदा ट्रम्पले मुख खोलेका हुन् । उनको उक्त अभिव्यक्तिलाई नोभेम्बरमा चुनाव हारेपछिको पहिलो सार्वजनिक स्विकारोक्तिका रूपमा हेरिएको छ । नोभेम्बरमा उनले राष्ट्रपति-निर्वाचित जो बाइडनप्रति लक्षित ट्वीट गर्दै हार अस्वीकार गरेका थिए । उनले लेखेका थिए: 'चुनावमा धाँधली भएका कारण उनले जिते ।'
ट्र्म्पले के भने ?
भिडिओ सन्देशमा ट्रम्पले 'कङ्ग्रेसले नतिजालाई प्रमाणिकरण गरिसकेकाले २० ज्यानुअरीमा नयाँ प्रशासनले काम थाल्ने' बताएका छन् । 'मेरो प्राथमिकता अब सहज, व्यवस्थित र निर्वाध रूपमा सत्ता हस्तान्तरणमा हुनेछ । यो अवस्थाले निदान र मेलमिलाप खोजेको छ ।'
— Donald J. Trump (@realDonaldTrump) January 8, 2021
उनले आफ्ना 'गज्जबका समर्थकहरू'को समेत प्रशंसा गरेका छन् । उनले 'हाम्रो अविश्वसनीय यात्रा एउटा सुरुवात मात्र भएको' बताएका छन् । छोटो उक्त भिडिओ फूटेजमा ट्रम्पले बुधवारको दङ्गा उक्साउनेगरी यसअघिका चुनावी धाँधली सम्बन्धी आफ्ना आधारहीन दाबीका बिषय उल्लेख गरेनन् ।
अमेरिकी कङ्ग्रेसका वरिष्ठ डेमोक्र्याटिक नेताहरूले उपराष्ट्रपति माइक पेन्सलाई संविधानको २५औँ संशोधन लागु गर्न आह्वान गरेका छन् । उक्त संशोधनमा राष्ट्रपतिलाई काम गर्न असक्षम भन्दै हटाउन सक्ने व्यवस्था छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले यदि त्यसो नभए उनले राष्ट्रपतिलाई महाअभियोग पनि लगाउनसक्ने बताइन् । सिनेटमा डेमोक्र्याटिक नेता चक सुमरले अवस्था 'माथिल्लो स्तरको सङ्कट' भएको बताए ।
बाइडनले गरे आलोचना
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले बुधबार क्यापिटल हिलमा भएको विद्रोहका लागि ट्रम्पलाई जिम्मेवार ठहर्याउँदै उनीमाथि शाब्दिक हमला गरेका छन् । उनले बुधवार अमेरिकी इतिहासकै अध्यारो दिन भएको बताउँदै राष्ट्रपति ट्रम्पले 'गएका चार वर्ष प्रजातन्त्र र कानुनी शासनको मानमर्दन गर्नमा बिताएको' बताए । उप-राष्ट्रपति माइक पेन्ससहित केही नेतृत्वदायी रिपब्लिकनहरू ट्रम्पबाट टाढिएका बेला बाइडनको यस्तो प्रतिक्रिया आएको हो । बीबीसी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया