विश्व

कंगोमा ५१ जनालाई मृत्युदण्डको सजाय

इकागज |
माघ १६, २०७८ आइतबार ९:३५ बजे

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कंगोमा दर्जनौं लडाकु सदस्यहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ । राष्ट्रसंघका दुई जना विज्ञहरुको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । 

सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कंगोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो । उनीहरु सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि भेटिएका सामूहिक चिहानबारे अनुसन्धानमा खटिएका थिए । 


सो क्रममा उनीहरुका अनुवादक वेट टिशिन्टेला पनि मारिएका थिए । अपहरणको १६ दिनपछि उनीहरुको शव भेटिएको थियो । उनीहरुमध्ये क्याटालनको शिर छेदन गरिएको थियो । 

सो घटनापछि राष्ट्रसंघ स्तब्ध बनेको थियो । न्याय सुनिश्चित गर्न राष्ट्रसंघले सम्भाव्य सबै कदम चाल्ने राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताएका थिए । 

सन् २०१७ मा कसाइमा भएको द्वन्द्वमा सयौं मानिसको मृत्यु भएको थियो । सन् २०१६ को अगस्टमा सनातन नेता कामविना सापुको हत्यापछि भड्किएको हिंसामा १० लाख भन्दाबढी मानिस विस्थापित भएका थिए ।

दर्जनौं प्रतिवादीहरुमध्ये अदालतले ५१ जनालाई मृत्युदण्ड सुनाएको हो । तर, कंगोले मृत्युदण्ड दिने सजाय यसअघि स्थगित गरेकोले लडाकुलाई सुनाइएको मृत्युदण्डको सजाय पनि जन्म कैदमा रुपान्तरण हुन सक्ने अनुमान गरिएको छ ।
 


Author

थप समाचार
x