विश्व

४८ घण्टाभित्र रूससँग छलफल गर्न युक्रेनको आह्वान

इकागज |
फागुन २, २०७८ सोमबार ८:१३ बजे

न्युयोर्क - सीमामा जारी विवादबारे बैठक गर्न युक्रेनले रसिया र युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूलाई आह्वान गरेको छ । विदेशमन्त्री दिमित्रो कुलेबाले सीमामा सुरक्षाकर्मीको तैनाथबारे विवरण दिन आफूहरूले गरेको औपचारिक आग्रहलाई रुसले  बेवास्ता गरेको बताए ।  ‘पारदर्शीता’ का लागि रसियाको योजनाबारे आगामी ४८ घन्टाभित्र बैठक गर्न अनुरोध गर्ने अबको ‘अर्को कदम’ भएको उनले बताए । 

युक्रेनको सीमामा एक लाख सुरक्षाकर्मी परिचालन गरे पनि युक्रेनमा अतिक्रमणको योजना नभएको रसियाले बताउँदै आएको छ । तर, केही पश्चिमेली देशहरूले रसियाले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको बताउँदै आएका छन् । मस्कोले ‘जुनकुनै बेला’ हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने अमेरिकाले अनुमान गरेको छ । एक दर्जनभन्दा बढी देशहरूले युक्रेनबाट आफ्ना नागरिकहरूलाई स्वदेश फर्किन आह्वान गरेका छन् । केही देशहरूले राजधानी किभबाट कर्मचारीहरू फिर्ता बोलाएका छन् । 


युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुसको मनसायबारे जवाफ खोजेको बताइएको छ । सम्झौतालाई युरोपमा सहकार्य र सुरक्षाका लागि अन्तर सहरकारी संगठन (ओएससीई) ले स्वीकारेको छ, जसमा रुससमेत सदस्य छ ।


Author

थप समाचार
x