विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पको युट्युब च्यानल पनि बन्द

इकागज |
पुस २९, २०७७ बुधबार ११:३२ बजे

काठमाडौं : फेसबुक, ट्वीटरपछि सामाजिक सञ्जाल युट्युबले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानल एक हप्ताका लागि बन्द गरेको छ । गएको हप्ता अमेरिकी संसद बाहिर ट्रम्पका समर्थकले हिंसा भड्काएको भिडियो पोस्ट गरेपछि युट्युबले ट्रम्पको च्यानल अस्थायी रुपमा बन्द गरेको हो । 

ट्रम्पले सो भिडियो फेसबुक, ट्वीटरसँगै युट्युबमा पनि पोस्ट गरेका थिए । सो भिडियोले हिंसालाई प्रोत्साहन गरेको भन्दै युट्युबले हटाईदिएको छ । राष्ट्रपति पदमा बसेर हिंसालाई प्रोत्साहन गरेको भन्दै युट्युबले भिडियो हटाउनुका साथै एक हप्ताका लागि च्यानल बन्द गरेको सीएनएनले जनाएको छ । सो भिडियो फेसबुक र ट्वीटरले यसअघि नै हटाएर ट्रम्पको खाता नै बन्द गरिदिएका छन् । 


युट्युबको नियममा हिंसालाई प्रोत्साहन गर्ने खालका भिडियो पहिलोपटक पोस्ट गरेमा एक हप्ता, त्यो गल्ती दोहोर्‍याएमा दुई हप्ता र तेस्रो पटक पनि सोही प्रकृतिका भिडियो पोस्ट गरेमा स्थायी रुपमै च्यानल बन्द गर्ने व्यवस्था छ ।

सामाजिक सञ्जाल ट्वीटरकै प्रयोगबाट चर्चित बनेर चार बर्षअघि राष्ट्रपतिको चुनाव जितेका ट्रम्प अहिले हिंसा प्रोत्साहन गर्ने अभिव्यक्तिका कारण सामाजिक सञ्जाल विहिन भएका छन् । 


Author

थप समाचार
x