युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने संकेत
किभ [युक्रेन] - युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् । युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।
जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, 'हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ,' उल्लेख गरेका छन् । उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन् । यससम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।
रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीहरूबीच चिन्ता र तिक्तता बढाएको छ। तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।
युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिंदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा "छिटो र गम्भीर लागत" लाग्ने बताएका थिए । बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि 'अब कुनै पनि दिन' आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया