विश्व

अमेरिकी उच्च अधिकारीको ताइवान भ्रमण रद्द, पोम्पियो पनि युरोप नजाने

इकागज |
पुस २९, २०७७ बुधबार १२:२० बजे

काठमाडौं : अमेरिकाको विदेश मन्त्रालयले अन्य मुलुकतर्फ हुन लागेका भ्रमण तत्कालका लागि स्थगित गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले आफु अन्र्तगतको मन्त्रालयबाट यस साता हुने भनिएका सम्पूर्ण विदेश भ्रमण स्थगित गरिएको जानकारी दिए । 

अर्को साताबाट नव निर्वाचित राष्ट्रपति जो बाइडनले कार्यभर सम्हाल्ने कार्यतालिका रहेको हुँदा डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनबाट हुन लागिएका भ्रमण रोकिने भएका हुन् । यसअघिको तालिका अनुसार पोम्पियो आफै युरोप भ्रमणमा जाने कार्यक्रम थियो भने अमेरिकाको संयुक्त राष्ट्रसंघका लागि राजदुत केल्ली क्राफ्ट यही बुधबार ताइवान जान लागेका थिए ।    


यसै साता युरोप प्रस्थान गर्न लागेका पोम्पियोले युरोपियन युनियन (ईयु) र विभिन्न युरोपियन मुलुकका उच्च अधिकारीसँग भेट्न चाहेका थिए । तर ईयुका अधिकारी तथा लक्जमवर्गका विदेश मन्त्रीले पोम्पियोलाई भेट्न अनिच्छुक देखिएपछि ट्रम्पका विदेश मन्त्रीको भ्रमण रद्द भएको रोयटर्सले आफ्नो स्रोतको हवला दिँदै लेखेको छ । 

उता क्राफ्टको ताइवान भ्रमणप्रति चीनले आपत्ति जनाएको थियो । ट्रम्प नेतृत्वको अमेरिकी सरकारले चीनविरुद्ध कठोर हुने निर्णय बमोजिम उच्च अधिकारी क्राफ्टलाई ताइवान भ्रमणमा पठाइन लागेको भए पनि अन्तिममा आएर चीनले दाबी गरेको टापुतर्फको भ्रमण स्थगित भएको हो । ताइवान सरकारले क्राफ्टको भ्रमण रद्द भएको विषयमा प्रतिक्रिया दिँदै आफ्नो सरकार दुःखी भएको बताएको छ । 

गत अगस्टमा आफ्ना स्वास्थ्य तथा वातावरण मन्त्रीलाई ताइवान भ्रमणमा पठाएका ट्रम्पले अर्का उच्च अधिकारीलाई पनि भ्रमणमा पठाएर चीनलाई फेरी आक्रोशित तुल्याउन चाहन्थे । ताइवानसँग औपचारिक कूटनीतिक सम्बन्ध नभएपनि अमेरिकाले ट्रम्प राष्ट्रपति बनेर आएपछि साई इङ वेनको सरकारलाई कुनैपनि अमेरिकी सरकारले यसअघि बेचेको भन्दा धेरै हतियार बेचेको थियो ।  


 


Author

थप समाचार
x