विश्व

रुसबाट जर्मनी जोड्‍ने पाइपलाइन निर्माण रोक्‍ने ट्रम्पको अन्तिम प्रयास

इकागज |
पुस २९, २०७७ बुधबार १४:३१ बजे

काठमाडौं : अमेरिकी विदेश मन्त्रालयले रुसले निर्माण गरिरहेको ग्यास पाइपलाइनमा सहयोग गरिरहेका भनिएका युरोपेली कम्पनीहरूलाई प्रतिबन्धको चेतावनी खुलेको छ । अर्को साता ह्वाइटहाउस छाड्न लागेका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्माणधिन रुसी ग्यास पाइपलाईन ‘नोर्ड स्ट्रिम टु’ का विरुद्ध कडा नीति लिने निर्णय अनुरुप सो चेतावनी दिइएको रोयटर्सले जनाएको छ । ती कम्पनीहरूलाई यसै महिना अमेरिकी विदेश मन्त्रालयबाट चेतावनी दिइएको हो । 

ह्वाइटहाउस बसाई धेरै बाँकी नभए पनि राष्ट्रपति ट्रम्प रुस र जर्मनी जोड्ने पाइपलाईन निर्माणलाई अन्तिम समयसम्म पनि प्रहार गर्ने रणनीतिमा रहेको विश्लेषकहरूको भनाई छ । त्यसै अनुरुप अमेरिकी विदेश मन्त्रालयबाट युरोपेली कम्पनीहरूलाई प्रतिबन्धको चेतावनी दिइएको हो । अमेरिकी विदेश मन्त्रालयले आउँदो बिहीबार वा शुक्रबार रुसी पाइपलाईन निर्माणमा संलग्न कम्पनीहरूका बारेमा रिपोर्ट सार्वजनिक गर्ने रोयटर्सले बताएको छ । ती कम्पनीहरूले रुसले निर्माण गरिरहेको पाइपलाईनलाई इन्सुरेन्स प्रदान गर्ने, प्रयोग हुने सामग्रीको प्रमाणीकरण गर्ने लगायतका कार्य गरिरहेको बताइएको छ ।


११ अर्ब अमेरिकी डलर लगानी भएको सो पाइपलाईनले युरोपलाई सस्तो दरमा ग्यास उपलब्ध गराउने अपेक्षा छ । पाइपलाईन निर्माण भई ग्यास आपूर्ति सुरु भएपछि युरोपमा रुसको प्रभाव बलियो हुनुका साथै भ्लादिमिर पुटिन सरकारको आर्थिक अवस्था मजबुत हुने अमेरिकाको अनुमान छ । यसअघि जर्मनी लगायतका युरोपेली मुलुक तर्फको ग्यास निर्यातमा युक्रेनको भूमिका बलियो थियो । अमेरिका आफै पनि युरोपेली मुलुकलाई ग्यास निर्यात गर्न चाहिरहेकाले त्यहाँको बजारमा सस्तो रुसी ग्याससँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । 

उता रुस भने जर्मनी जोड्ने निर्माणधिन ग्यास पाइपलाईन उर्जा कम्पनी गाजप्रोमले निर्माण गरिरहेकाले यो परियोजना विशुद्ध ब्यपारिक परियोजना भएको प्रष्टिकरण दिन्छ । त्यसो त गाजप्रोम आफैमा रुसी सरकारको लगानी भएको कम्पनी हो । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनी पनि ग्राजप्रोमले निर्माण गरिरहेको पाइपलाईन ब्यपारिक भएको र यसमा रुसी सरकारको संलग्नता नरहेको बताउँछ । उर्जाका लागि कोल र आणविक भट्टीमा भरपर्ने जर्मनी रुसी ग्यास आपूर्ति गर्न चाहान्छ । 

बाराक ओबामा प्रशासनमा विदेश मन्त्रालय सम्हाल्दा जो बाइडन पनि ‘नोर्ड स्ट्रिम टु’ को विरुद्धमा रहेका थिए । जनवरी २० बाट राष्ट्रपतिको पदभार सम्हाल्न लागेका बाइडनले यो परियोजनालाई कसरी लिन्छन् भन्ने टु्ङ्गो छैन । यसअघि सन् २०१९ को डिसेम्बरमा अमेरिकाले प्रतिबन्ध लगाएपछि गाजप्रोमले पाइपलाईन निर्माणलाई एक वर्ष रोकेको थियो । तर केही महिना अघि रुसी कम्पनीले यो परियोजनालाई सुचारु गरेको छ र अहिले सम्म ९० प्रतिशत काम सकिसकेको बताइन्छ । बाल्टिक समुन्द्र हुँदै जाने यो पाइपलाईनको ६२ किलोमिटर लामो अन्तिम हिस्सा मात्र निर्माण हुन बाँकी रहेको छ । 
रोयटर्सको सहयोगमा


Author

थप समाचार
x