विश्व

पुटिन आधुनिक युगका हिटलर- युक्रेनका पूर्व राष्ट्रपति

इकागज |
फागुन १२, २०७८ बिहीबार १६:१० बजे

फाइल फाेटाे

काठमाडौँ - युक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्कोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आधुनिक युगको हिटलर भएको बताएका छन् । पोरोसेन्को हाल युक्रेनका सांसद हुन् । उनले आज दुखद दिन भएपनि जित युक्रेनको हुने बताए ।युक्रेनको राजधानी किफमा सांसदहरुको आपतकालीन बैठक बस्दैछ । 

बैठकमा सहभागी हुन पुगेका पोरोसेन्कोले संसदबाहिर पत्रकारहरुसँगको कुराकानीमा पुटिनलाई आधुनिक हिटलर भनेका थिए । पोरोसेन्को सन् २०१४–१९ सम्म युक्रेनको राष्ट्रपति थिए । एक युक्रेनी पत्रकारले बीबीसीलाई संसदको वातावरण तनावपूर्ण रहेको बताएका छन् । 


बिहीबार बिहान पुटिनले युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेका थिए । यसपछि युक्रेनको धेरै क्षेत्रमा हवाई हमला भएको छ ।

 युक्रेनले रुसको आक्रमणमा अहिलेसम्म सात जनाको ज्यान गएको जनाएको छ । अधिकारीहरूले आक्रमणमा सैन्य अड्डाहरूलाई निशाना बनाएको बताएका छन्। 

रुसले युक्रेनी नागरिक रहेको स्थानमा हमला नगरेको दाबी गरेको छ । आफ्नो सम्बोधनमा पुटिनले युक्रेनी सेनालाई हतियार राख्न आग्रह गरेका थिए र यस मामिलामा कसैले हस्तक्षेप नगर्न चेतावनी दिएका थिए।


Author

थप समाचार
x