विश्व

युक्रेनमाथि रुसी आक्रमणको दोस्रो दिन के-के भयो ?

इकागज |
फागुन १४, २०७८ शनिबार ७:८ बजे

काठमाडौँ- युक्रेनमाथि रुसी आक्रमणको दोस्रो भएका घटनाहरू ।

- रुसी सैनिकहरू राजधानी किएभको उत्तरी भेगमा पुगेको युक्रेनले जनाएको छ।
- सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा रुसी ट्याङ्कहरू युक्रेनको राजधानी किएभ क्षेत्रमा गुडिरहेको देखिएको छ।
- अघि बढिरहेका रुसी सेनाबाट सहरको रक्षा गर्न युक्रेनी सैन्य गाडीहरू किएभमा परिचालन गरिएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन्।जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ।
- रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले किएभनजिकै अवस्थित एउटा प्रमुख हवाई मैदान नियन्त्रणमा लिएको बताएको छ।
- रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमा पर्ने एउटा सानो टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको छ।
- युक्रेनमाथि सैन्य आक्रमण गरेको रुसमाथि युरोपेली सङ्घ ईयूले ठूलो स्तरको नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ।
- युक्रेनको राजधानी किएभबाट उत्तरपश्चिममा अवस्थित बुखाको एउटा आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा देखा परेको छ।
- रुसले युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पिअन्स लीग प्रतियोगिताको फाइनल खेल रुसको साटो फ्रान्समा हुने भएको छ।
- रुसको राष्ट्रिय ध्वजावाहकमाथि ब्रिटेनले प्रतिबन्ध लगाएपछि रुसले पनि यूके सम्बद्ध विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा उड्नमा प्रतिबन्ध गरेको छ।
- यूकेका रक्षामन्त्रीले आक्रमणको पहिलो दिन रुसले युक्रेनमा आफ्नो कुनै पनि लक्ष्य हासिल गर्न नसकेको ब्रिटिश गुप्तचर निकायहरूको आकलनबाट देखिएको बताएका छन्।
- रुसी फौज अगाडि बढिरहँदा युक्रेनी राजधानी किएभमा गोली हानाहानका आवाज सुनिएका थुप्रै विवरणहरू आएका छन्।
- रुसले आक्रमण गरेपछि युक्रेनको राजधानी किएभभरि खतरा जनाउने साइरन बजेको सुनिएको छ।
- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशवासीलाई सम्बोधन गर्दै युक्रेन र रुस दुवैमा युद्धविरामका लागि आफूले अपील गरिरहेको बताएका छन्।
- अमेरिकाले रुसी अतिक्रमणका कारण ५० लाख मानिस विस्थापित हुने र त्यसले विश्वका ठूलामध्येको एउटा शरणार्थी सङ्कट सिर्जना गर्ने चेतावनी दिएको छ।
- युक्रेनमाथि रुसले आक्रमण गरिरहँदा त्यसको विरोधमा रुसकै हजारौँ नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।



Author

थप समाचार
x