अमेरिकासहितका ५० देशले संयुक्त विज्ञप्ति जारी गर्दै भने– रूसले राष्ट्रसंघमा शक्तिको दुरुपयोग गर्यो
न्युयोर्क - संयुक्त राष्ट्रसंघका १९३ सदस्यमध्ये ५० राष्ट्रले संयुक्त विज्ञप्ति जारी गरी रूसमाथि शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषदमा रूसले भिटो प्रयोग गरी शक्तिको दुरुपयोग गरेको आरोप अमेरिकालगायतका ५० राष्ट्रले लगाएका हुन् ।
शुक्रबार राति पश्चिमी देशले सुरक्षा परिषद्मा युक्रेनमाथि रूसले गरेको आक्रमणविरुद्ध निन्दा प्रस्ताव लगेका थिए । प्रस्तावको पक्षमा ११ देशले मतदान गरेका थिए भने चीन, भारत र युनाइटेड अरब इमिरेट्स (युएई) तटस्थ बसेका थिए । त्यसपछि रूसले उक्त प्रस्तावमाथि भिटो प्रयोग गरेको थियो ।
राष्ट्रसंघका ५ स्थायी सदस्य रुस, अमेरिका, चीन, फ्रान्स र बेलायतलाई भिटो प्रयोग गर्न पाउने अधिकार रहेको छ । रूसले भिटो प्रयोग गरेपछि अब उक्त निन्दा प्रस्ताव अघि बढ्ने छैन ।
रूसले भिटो प्रयोग गरेपछि ५० देशले संयुक्त विज्ञप्ति जारी गरी रूसले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका हुन् । विज्ञप्ति राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले पढेर सुनाएकी थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया