विश्व

अग्रपंक्तिमा काम गर्ने श्रमिकको ज्याला प्रतिघण्टा १५ डलर पुर्‍याइने

बाइडेनले १,९०० अर्ब डलरको राहत प्याकेज ल्याउँदै

इकागज |
माघ २, २०७७ शुक्रबार १४:१५ बजे

काठमाडौंः अमेरिकी राष्ट्रपति निर्वाचित भएका जो बाइडेनले १९ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज ल्याउने भएका छन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि महत्वाकांक्षी खोप वितरण कार्यक्रम र पुरानै अवस्थामा फर्कनका लागि संघर्षरत अमेरिकीहरूका लागि प्रोत्साहन स्वरुप यो योजना सार्वजनिक गर्ने तयारी भैरहेको छ ।

अमेरिकाको दुवै सदनमा डेमोक्र्याट पार्टीको बाहुल्य भएपछि बाइडेनलाई ‘अमेरिकालाई उद्दार गर्ने योजना’ ल्याउन सहज हुने ठानिएको छ । प्रस्तावित राहत प्याकेजमध्ये उल्लेख्य रकम अर्थात् ४१६ अर्ब अमेरिकी डलर देशव्यापी खोप वितरणका लागि खर्च गरिनेछ । बाइडेनले १० करोड अमेरिकीलाई खोप वितरण गर्ने र आफू राष्ट्रपतिका रूपमा ह्वाइट हाउसमा बहाली गरेको १०० दिनभित्रै विद्यालहरू सञ्चालन गने बाइडेनको योजना छ । 


अमेरिकालाई कमजोर बनाइरहेको महामारी नियन्त्रण र आर्थिक–सामाजिक जीवनलाई गति दिने बाइडेन प्रशासनको यो प्रोत्साहन कार्यक्रम महत्वपूर्ण हुने बताइएको छ । अमेरिकामा २ करोड ३० लाख मानिसहरू कोभिड–१९ बाट संक्रमित भैसकेका छन् भने तीन लाख ८४ हजार तीन सय ७५ मानिसहरूको मृत्यु भैसकेको छ । 
‘प्राइम टाइम सम्बोधन’ मा बाइडेनको अभिव्यक्तिलाई मार्मिक र आशावादी मानिएको छ । उनले महामारीका कारण जीवन गुमाएका अमेरिकीहरूलाई श्रद्धासुमन व्यक्त गर्दै यसले लाखौं अमेरिकीहरूलाई भाडा तिर्न, व्यवसायलाई निरन्तरता दिन र आफ्ना परिवारका लागि अत्यावश्यक वस्तु र सेवाको जोहो गर्न समेत कठिन भएको उल्लेख गरेका थिए । 

उनले आफ्नो योजनाले लाखौं अमेरिकी जनतालाई गरिबीबाट बाहिर ल्याउनुका साथै अमेरिकी उद्योगहरूको पुनस्र्थापना, अग्रपंक्तिमा रहेर सेवा दिइरहेका वस्तु र सेवामा पुनर्लगानी तथा शिक्षक शिक्षिकाहरूको रोजगारी पुनस्र्थापना हुने दाबी गरेका छन् । 

अर्बौं डलर साना उद्योगहरूलाई सहयोग गर्ने बताएका छन् । सीमान्तकृत समुदायको स्वामित्वमा रहेका व्यवसाय उठाउन विशेष पहल गरिने भएको छ । घरवारविहीन भएका न्यून आय भएका परिवारलाई राहत, तलबसहितको पारिवारिक बिदा, बालबालिकाको हेरचाह र संघीय सरकारको पोषणसम्बन्धि कार्यक्रममा बाइडेनको योजनाले सहज पहुँच स्थापित गर्ने उनको भनाए छ । उनले कामदारहरूको निष्काशन र व्यवसाय अग्रिम बन्द नगर्न र यसअघि लागू गरिएको यससम्बन्धि प्रतिबन्धात्मक व्यवस्था देशभर लम्बाउन आग्रह गरेका छन् । 

‘महामारीले हामीलाई हिउँदको अन्धकार मध्यरातमा ल्याइपु¥याएको छ । अस्पतालमा भर्ना हुने र मृत्यु हुनेको संख्या उल्लेख्य बढेको छ, वास्तविक अर्थव्यवस्था पनि ठूलो पीडाबाट गुज्रिरहेको छ,’ बाइडेनले भने, ‘यस्तो बेलामा मानिसहरू लगानी भन्दा पनि आफ्नो खर्च कसरी जोहो गर्ने, कसरी छाक टार्ने र आफ्ना बालबालिका र पारिवारिक आवश्यकता कसरी पुरा गर्ने भन्नेमा छन् ।’

‘समयले हामीलाई पर्खदैंन,’ उनले भने, ‘हामीले अब काममाथि काम गर्दै जानुपर्छ ।’ बाइडेनले दुई–तहको योजना अघि बढाइने बताएका छन्, ‘अझै राम्रो, सशक्त र थप सुरक्षित अमेरिका निर्माण गर्नुपर्छ ।’

गत महिना, ६०० डलर कोभिड–१९ का संक्रमितहरूलाई राहत प्याकेज स्वरूप उपलब्ध गराइएको छ । यसका लागि ९०० अर्ब अमेरिकी डलर निकासा भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लालमोहर लगाएको कानुनमा पहिले २००० डलरको प्रोत्साहन दिने विषयमा छलफल भई डेमोक्र्याटहरूको बाहुल्य रहेको तल्लो सदनबाट अनुमोदन भएको थियो । तर सिनेटमा यो बारेमा भोटिङ नै भएन । 

उनले राहत प्याकेज आर्थिक गतिविधिलाई बढावा दिन डाउन पेमेन्ट जस्तो भएको र यसमा द्विपक्षीय रूपमा थप काम गर्न आवश्यक रहेको बताएका छन् । तेश्रो चरणको प्रोत्साहन कार्यक्रम अन्तर्गत अमेरिकीहरूका लागि थप १,४०० डलर प्रत्यक्ष नगद प्रोत्साहन दिन लागिएको छ । यसमा थप ४०० डलर बेरोजगार र थप प्रभावित श्रमिक वर्गका लागि उपलब्ध गराइनेछ । बाइडेनले कंग्रेससँग महामारीको समयमा पनि अग्रपंक्तिमा काम गर्ने श्रमिकहरूका लागि ज्यालादर प्रतिघण्टा १५ डलर कायम गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।

बाइडेनले राष्ट्रपतिमा बहाली भएपछि फेब्रुअरीमा देशवासीका लागि सम्बोधन गर्दैछन् । उक्त समयमा उनले पूर्वाधारमा लगानी, रोजगार तालिम, उत्पादनमूलक क्षेत्र र स्वच्छ उर्जा लगायतका क्षेत्रमा लगानी घोषणा गर्ने अपेक्षा गरिएको छ । उनले आफ्नो योजनाले अमेरिकामा १ करोड ८० लाख रोजगारी सिर्जना गर्ने दाबी गरेका छन् । 
अमेरिकामा ट्रम्प प्रशासन खोप वितरण रणनीतिका कारण आलोचित छ । रोग नियन्त्रण तथा रोकथाप केन्द्रका अनुसार, अहिलेसम्म अमेरिकामा २ करोड ९० लाख खोप वितरण भएको छ । एक करोड मानिसहरूले पहिलो डोजको खोप पाएका छन् । बाइडेन समर्थित अधिकारीहरूले ट्रम्प प्रशासनले खोप वितरणका लागि पूर्वाधार तयार नगरेको आरोप समेत लगाएका छन् । बाइडेनले ट्रम्पको भ्याक्सिन वितरण योजनालाई ‘निराशाजनक असफलता’ भनेका छन् । 

करोडौं अमेरिकीहरूलाई खोप वितरण गर्नुपर्ने भएकाले बाइडेनले यसलाई अमेरिकाको इतिहासमै सबैभन्दा ठूलो सञ्चालन चुनौतीको रूपमा बताएका छन् । उनले सकेसम्म धेरै मानिसहरूलाई खोप  वितरण गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । सभामुख न्यान्सी पेलोसी र सिनेटका बहुमत प्राप्त नेता, चक स्कुमरले बाइडेनको अभिव्यक्तिअघि जारी संयुक्त विज्ञप्तिमा उल्लेख गरेका छन् । 

बाइडेन–ह्यारिस प्रशासनले अघि सारेको प्रस्ताव महत्वपूर्ण रहेको भन्दै उनीहरूले संयुक्त वक्तव्यमा अमेरिका पुनरुत्थानतर्फको महत्वपूर्ण यात्रामा अघि बढेको बताएका छन् । राष्ट्रपति निर्वाचित जो बाइडेनको प्रस्तावलाई प्रतिध्वनित गर्दै उनीहरूले रिपब्लिकनहरूले पनि कानुन अनुमोदनमा सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन् । 

बाइडेनले राहत सम्बन्धि विधेयक आफ्नो कार्यकक्षमा जनवरी महिनाको अन्तिमसम्म आइपुग्ने संकेत गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सिनेटमा महाअभियोगको प्रक्रिया चलिरहेकोले यो केही पछाडि पनि जानसक्ने अनुमान गरिएको छ । 

बाइडेन समर्थित अधिकारीहरूले पत्रकारहरूसँग कुरा गर्दै आफू समयसँगै दौडमा रहेको उल्लेख गरेका छन् । उनीहरूले पहिलो प्राथमिकता आम मानिसहरूलाई खोप उपलब्ध गराएर विद्यालय तथा व्यवसायहरू खुलाउनु पहिलो प्राथमिकता भएको बताएका छन् । 
(एनबीसीबाट) 


Author

थप समाचार
x