विश्व

बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

इकागज |
माघ २, २०७७ शुक्रबार १४:१६ बजे

विलमिङटन : अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी अर्थतन्त्रलाई माथि उकास्‍न १९ खर्ब अमेरिकी डलरको महत्वाकाँक्षी राहत प्याकेज घोषणा गरेका छन् । 

राष्ट्रपति-निर्वाचित बाइडेनले आगामी बुधबार सपथ लिएसँगै उक्त राहत योजनालाई कार्यान्वयनमा ल्याउन पहल शुरु गर्नेछन् । बाइडेनले अमेरिकाको छवि सुधार्न 'नयाँ अध्याय' प्रारम्भ गर्न चाहेको बताउँदै आएका छन् ।
 
राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषयमा अमेरिकी तल्लो सदनले बहुमतले प्रस्ताव पारित गरेसँगै अमेरिकी राजनीतिमा बाइडेनको प्रस्तावलाई ट्रम्पमाथिको महाभियोगले छायाँमा पारेको छ । 


आफ्नो गृहनगर विलमिङटनमा बोल्दै बाइडेनले 'अमेरिकीहरुले चाँडै पुनरागमन गर्ने' विश्वास व्यक्त गरे । 'यो परिघटना रातारात सिर्जना भएको होइन । त्यसैले रातारात ठिक पनि हुने विषय होइन । र यसलाई सही मार्गमा ल्याउन हामी अलग्गिएर र विभाजित मुलुक भएर सम्भव पनि छैन ।' 

उनले अमेरिकी समाज र राष्ट्रलाई एकताको सूत्रमा बाँध्‍न र एक ठाउँमा ल्याउन हामी सबै अमेरिकी एकसाथ उभिनुको विकल्प नरहेको बताए ।

अमेरिकी संसदका दुबै सदनमा डेमोक्रेट पार्टीको झिनो बहुमत प्राप्त भएकाले तेस्रो ठूलो आर्थिक राहतको योजना ल्याउन बाइडेनलाई सहज हुनेछ । 

करिब २५ मिनेट लामो टेलिभिजन सम्बोधनमा बाइडेनले राष्ट्रपति ट्रम्प, उनीमाथिको महाभियोग वा संसदमा भएको आक्रमणका बारेमा कतै उल्लेख गरेनन् । बरु उनले कोरोना महामारीबाट सिर्जित दुईवटा संकट र त्यसबाट अर्थतन्त्रमा परेका संकटका बारेमा लामो चर्चा गरे । 

संयुक्तराज्य अमेरिकामा कोभिड-१९ महामारीले अझ बढी सताउन थालेको छ भने खोप लगाउने अभियानमा पनि बाधा अड्चन देखापरिरहेका छन् । 

अमेरिकी उद्धार योजना नाम दिइएको बाइडेनको आर्थिक प्याकेजमा विश्वकै सर्वाधिक ठूलो अर्थतन्त्रलाई पुनर्जीवन दिने लक्ष्य राखेर अनेक उपायहरु अघि सारिएका छन् ।
 
तीमध्ये न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर पुर्‍याउने महत्वाकाँक्षी योजना पनि समावेश छ । साथै संघर्षरत राज्यहरु र स्थानीय सरकारहरुलाई आर्थिक सहायता दिने, विद्यालयहरु सुरक्षित तवरले खोल्ने, कोभिड-१९ खोप लगाउने कार्यलाई व्यापक बनाउने, बेरोजगार भत्ता कार्यक्रमलाई थप गर्ने तथा गत महिना कङ्ग्रेसले पारित गरेको तर सिनेटले रोकेको प्रति परिवार २००० अमेरिकी डलर दिने योजनालाई स्वीकृति गर्ने रहेका छन् । 

सभामुख नान्सी पेलोसी र सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक सुमरले बाइडेनद्वारा अगाडि सारिने प्रस्तावलाई जतिसक्दो चाँडो पारित गर्ने प्रतिबद्धता व्यक्त गरे । 

बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिन १०० मिलियन (१० करोड) लाई खोप दिने अभियान सार्वजनिक गरिसकेका छन् । 

अमेरिकी संसदका दुबै सदनमा डेमोक्रेटको झिनो बहुमत रहेकाले पनि बाइडेनले मनोनयन गर्नु भएका प्रमुख पदहरुको सुनुवाई छिटो हुने अपेक्षा गरिएको छ । यही जनवरी १९ मा सिनेटको वित्तीय समितिले प्रस्तावित अर्थमन्त्री जानेट येलेनको सुनुवाई गर्दैछ ।

त्यस्तै अर्को साता राष्ट्रिय गुप्तचर निकायका निर्देशकमा मनोनित एभरिल हेन्सको सुनुवाई हुँदैछ । (एएफपी)


Author

थप समाचार
x