विश्व

युक्रेन छाड्न अमेरिकाको प्रस्ताव अस्वीकार गर्दै जेलेन्स्कीले भने- 'मलाई कुनै सवारी होइन, हतियार चाहिएको छ'

इकागज |
फागुन १४, २०७८ शनिबार १४:३ बजे

फाइल तस्बिर

किभ, युक्रेन- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

'लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन,' अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ ।


द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।

रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता रहेका उनले निरन्तर लडिरहने प्रतिबद्धता जनाएका छन् । एउटा सम्बोधनमा उनले भनेका छन्, 'जब तिमीहरूले हामीलाई आक्रमण गर्छौँ हामी त्यसको सामना गर्छौँ, भाग्दैनौँ'

उनले आफैँले खिचेको एउटा भिडिओ पनि पोस्ट गरेका छन् जसमा उनी र उनका सहयोगीहरू किएभमा देखिन्छन् ।

उनले भनेका छन्, 'हामी सबै यहाँ छौँ र यो यस्तै भइरहन्छ ।'


Author

थप समाचार
x