सुडान झडपमा ४८ जनाको मृत्यु
खार्तूम : सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ व्यक्तिको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ । आक्रमणमा कम्तीमा ९७ व्यक्ति घाइते भएका सुनाले उपचारमा सम्लग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी उल्लेख गरेको छ ।
“शनिबार बिहानदेखि एल जेनिना शहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी रहेका छन्, जसमा हाम्रो तथ्यांक अनुसार ४८ जना मारिएका र ९७ जना घाइते भएका छन् ।” सुनाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी लेखेको छ ।
सुरक्षा बल र मेडिकल सेवासहितको यातायातका साधनहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको समितिले जनाएको छ । यसैबीच सुडानको मन्त्रिपरिषद्ले एल जेनिनालाई अवस्थाको मूल्यांकन गरी अवस्थालाई शान्त बनाउन तथा राज्यमा शान्ति र स्थायित्व कायम गर्न तत्काल उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको जनाएको छ ।
महान्यायाधिवक्ता ताज अल-सर अली अल-हेब्रोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा सुरक्षा, सैन्य र न्यायिक निकायका प्रतिनिधिहरू सामेल गरिएको छ । यसैबीच, पश्चिम डार्फरमा शनिबार घटना चलिरहेका समय स्थानीय अधिकारीहरूले स्थितिलाई नियन्त्रणमा लिन निषेधाज्ञा आदेश जारी गरेका छन् ।
पश्चिम डार्फर राज्यका गभर्नर मोहम्मद अब्दल्ला अल डोमाले एल जेनिनामा दुई नागरिकको बिचमा भएको लडाईबाट शुरू भएको हिंसा अन्त्य गर्न सेनालाई दिएको आदेशपछि अवस्था थप जटिल भएको थियो । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया