विश्व

हामीले सोचेभन्दा धेरै राम्रो गर्‍यौं : ट्रम्प

इकागज |
माघ ७, २०७७ बुधबार ७:२१ बजे

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चार बर्षे कार्यकालमा सोचेभन्दा भन्दा धेरै राम्रो गरेको बताएका छन् । ह्वाइट हाउसबाट बिदाई सम्बोधन गरेका ट्रम्पले आफूले सोचेको भन्दा अझै धेरै राम्रो गरेको बताएका हुन् ।

ट्रम्पले बिदाईका क्रममा नयाँ राष्ट्रपति जो बाइडेनले अमेरिकालाई सुरक्षित र अझ सम्पन्न तुल्याउने विश्वास आफूमा रहेको पनि बताएका छन् । जबकी राष्ट्रपतीय चुनावमा हार व्यहोरेका ट्रम्प शुरुमा ह्वाइट हाउस छाड्न तयार थिएनन् । उनले चुनावी परिणाम पनि अस्वीकार गरेका थिए । 


हार व्यहोरेको आक्रोशमा उनले आफ्ना समर्थकलाई संसद भवनमा आक्रामण गर्न उक्साएका थिए । ट्रम्पकै उक्साहटमा संसद भवनमा भएको आक्रमणमा प्रहरीले बल प्रयोग गर्दा ५ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए ।

राष्ट्रपति पदको दुरुपयोग गर्दै हिंसालाई प्रोत्साहन गरेको आरोपमा ट्रम्पविरुद्ध अमेरिकी तल्लो सदनमा दोस्रोपटक महाअभियोग लागेको थियो । बिदाई सम्बोधनका क्रममा सामान्य देखिएपनि अमेरिकी इतिहासमा एकै कार्यकालमा दुई पटक महाअभियोग लागेर ट्रम्प बिदाई हुन लागेका हुन् ।

सो हिंसापछि ट्रम्पको आधिकारिक खातालाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले बन्द गरिदिएका छन् । युट्युबले पनि उनको खाता एक हप्ताका लागि निलम्बर गरेको छ । अमेरिकालाई महान बनाउने र अमेरिकामा अमेरिकीलाई मात्रै स्थान दिने नारा दिएर चुनाव जितेका ट्रम्प चार बर्षको कार्यकालमा खराब राष्ट्रपतिको छवि राख्दै ह्वाइट हाउसबाट बाहिरिन लागेका हुन् ।

उनी खासगरी अमेरिकामा छिर्ने आप्रवासीप्रति असहिष्णु थिए । काला जातीप्रति क्रुर टिप्पणी गर्ने ट्रम्पले शुरुका दिनमा अमेरिका प्रवेश गर्ने धेरै आप्रवासी मुलुकलाई प्रतिबन्ध लगाएका थिए । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने र आप्रवासीलाई अमेरिका छिर्न पूर्ण रुपमा रोक्ने उनको योजना पनि त्यति सफल हुन सकेन । यद्यपी बिदाईका क्रममा ट्रम्पले आफूले थालेको आन्दोलन अमेरिकामा बल्ल शुरु हुन लागेको बताएका छन् ।

बिदाई सम्बोधनमा ट्रम्पले अमेरिकाको नीतिबारे धेरै ठूलो परिवर्तन गरेको दाबी गरेका छन् । विदेश नीतिलाई फेरबदल गर्दै धेरै देशमा शान्ति स्थापना गर्न सफल भएको ट्रम्पको भनाई छ । खासगरी इराकमा युध्द चर्काएपनि आणविक हतियार उत्पादनमा तिब्रता दिएको उत्तर कोरियासँगको शान्ति वार्ता ऐतिहासिक भएको उनको भनाई छ । 

उत्तर कोरियासँग पहिलोपटक वार्ता गरेका ट्रम्पले शान्तिका लागि भन्दै उत्तर कोरियाको भूमिमा समेत टेकेका थिए । आफ्नो कार्यकालमा कुनै देशविरुध्द युध्द नछेडेकाले यस अर्थमा आफू ऐतिहासिक राष्ट्रपति भएको पनि ट्रम्पको दाबी छ । उनले चीनको बढ्दो शक्तिको सामाना गर्दै केही हदसम्म रोक्न सफल भएको पनि दाबी गरेका छन् । (अमेरिकी सञ्चारमाध्यमको सहयोगमा) 


Author

थप समाचार
x