रिपब्लीकन सिनेटरहरू ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने
वासिङ्टन : पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरू उभिने संकेत देखिएको छ ।
ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनीविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव विचाराधीन छ ।
डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित गरी सिनेटमा छलफलका लागि पठाइसकेको छ ।
प्रस्तावमा आगामी फेब्रुअरी ९ देखि सिनेटमा छलफल गर्नेगरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।
ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित हुन कम्तीमा १७ जना रिपब्लीकन सिनेटरले डेमोक्रेट पार्टीलाई साथ र समर्थन गर्नु पर्नेछ जुन डेमोक्रेटका लागि फलामको च्यूरा चपाएसरह हुनेछ । अमेरिकी कानुन बमोजिम कुनै पनि राष्ट्रपतिविरुद्धको महाभियोग पारित हुन सिनेटमा दुई तिहाइ मत आवश्यक पर्दछ ।
हाल सिनेटमा रिपब्लीकन र डेमोक्रेट पार्टीबाट ५०-५० सदस्य छन् । पूर्वराष्ट्रपति ट्रम्पको कार्यकाल समाप्त भई बिदा भइसकेको अवस्थामा महाभियोगमाथि छलफल गर्नुको औचित्य छैन भन्ने केन्टकी राज्यका रिपब्लीकन सिनेटर रान्ड पलको भनाइलाई सिनेटमा भएको मतदानमा ५५-४५ ले अस्वीकार गरेको थियो ।
मतदानपछि बोल्दै सिनेटर पलले ४५ जना सिनेटर महाभियोगको विपक्षमा रहेकाले महाभियोग प्रस्तावको संवैधानिक आधार समाप्त भइसकेको बताए । महाभियोगको सुनुवाईको अध्यक्षता गर्नु भएका ८० वर्षीय सिनेटर प्याट्रिक लेही मंगलबारको प्रारम्भिक सुनुवाईपछि एकाएक अस्वस्थ भएर अस्पताल भर्ना भएका थिए । तर उनको स्वास्थ्य अवस्था सुधार भइसकेको उनका प्रवक्ताले बताएका छन् ।
पछिल्ला राजनीतिक घटनाक्रम र अर्कान्सा राज्यको गभर्नरका लागि ह्वाइट हाउसकी पूर्वप्रेस सचिव सराह हक्याबी स्यान्डर्सको मनोनयनले रिपब्लीकन पार्टीभित्र ट्रम्पको प्रभाव निकै रहेको अनुमान गरिएको छ । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया