विश्व

बेइजिङमा नागरिकलाई विदा मनाउदा बाहिर ननिस्किन आग्रह

इकागज |
माघ १५, २०७७ बिहीबार १३:४८ बजे

बेइजिङ : चीनमा कोभिड–१९ का नयाँ सङ्क्रमतिहरू प्रत्येक दिन जसो भेटिन थालेपछि यहाँका अधिकारीहरूले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका हुन् ।

 
हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरू पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरू यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका हुन्छन् ।
 
तर यहाँका स्वास्थ्य अधिकारीहरूले भने चीनमा दिन प्रति दिन कोभिडका सङ्क्रमितहरू भेटिएको जानकारी गराएका छन् । चीनको राजधानी सहर बेइजिङका नगरपालिका अधिकारीले बेइजिङमा अनावश्यक रुपमा बाहिर ननिस्किन भनेका हुन् । उनले पछिल्ला केही दिनहरुमा चीनका बेइजिङसहितका अरु पनि विभिन्न सहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरेका हुन् ।
 
कोभिडको संक्रमण चीनको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा निस्किएको बताइएको थियो । यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ । चीनले भने छ महिनाभन्दा अघि नै यहाँ यो भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । तर पछिल्ला दिनहरूमा भने यहाँ फेरि यसका संक्रमितहरू देखिन थालेका चीन सरकारले जनाएको छ ।
 
चीन सरकारले जनाएअनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरूका अनुसार बुधबार मात्र चीनमा कोभिडका ५४ जनामा नयाँ संक्रमण देखिएको हो । तीमध्ये थप ४१ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु संक्रमितहरू भने बाहिरबाट आएका नागरिकमा पाइएको थियो ।


 
चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला केही दिनमा विभिन्न सहरमा नयाँ नयाँ संक्रमित भेटिएका छन् । यहाँका स्थानीय नागरिकहरुबाटै ती  जना व्यक्ति संक्रमित भएका पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ । रासस


Author

थप समाचार
x