विश्व

साइबर अपराध तथा ठगीमा संलग्‍न नेपालमा समातिएका १२२ चिनियाँहरू जेल चलान

अजय अलौकिक |
माघ २०, २०७७ मंगलबार ६:४१ बजे

बेइजिङः गत वर्ष २०७६ पुसमा नेपालमा समातिएका १२२ चिनियाँहरू जेल चलान भएका छन् । हालै मात्र चीनको क्‍वानचौ (ग्वानझाउ) सहरको नान्शा जिल्ला अदालतले नेपालमा बसेर सीमापार इन्टरनेट ठगी केसमा संलग्‍न यी १२२ मध्ये १०१ जनामाथि सार्वजनिक सुनुवाइ गरेको छ । स्थानीय सञ्‍चार माध्यमका अनुसार, जनवरी २० मा अदालतले सार्वजनिक सुनुवाइ गरेको हो । यी अपराधीहरूले ६३ जना चिनियाँहरूलाई फसाएर १.६८ करोड चिनियाँ युआनभन्दा बढी रकम कुम्ल्याएको बताइएको छ । 

साइबर अपराधलगायत अन्य गैरकानुनी क्रियाकलापमा संलग्‍न रहेको आशंकासँगै भिजाको म्यादसमेत सकेको पाइएकोले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा नेपालबाट डिपोर्ट गरिएको थियो । उनीहरूलाई चीनले विशेष विमानद्वारा  फिर्ता गलेको थियो । आमनेपालीले यी साइबर अपराधीका बारेमा चासो राख्दैआएका छन् । 


यसैबीच चीनमा सन् २०२० मा १ लाख ३८ हजारभन्दा बढी व्यक्ति इन्टरनेट सम्बन्धित अपराध (साइबर अपराध) मा संलग्‍न भएको देखिएको छ । चीनको सुप्रिम पिपल्स प्रोक्यूरेटोरेटका अनुसार, चिनियाँ न्यायालयले सन् २०२० मा १ लाख ३८ हजारभन्दा बढी व्यक्तिलाई इन्टरनेट सम्बन्धित अपराधमा संलग्न भएको आरोपमा मुद्दा चलाएको छ । 

यो संख्या गत वर्ष मुद्दा चलाइएका सबै किसिमका अपराधको झण्डै ८.८ प्रतिशत रहेको पनि जनाइएको छ । साथै हालका वर्षहरूमा इन्टरनेट सम्बन्धित अपराधको बढ्दो प्रवृत्तिलाई सम्बोधन गर्न सुप्रिम पिपल्स प्रोक्यूरेटोरेट (सर्वोच्च जन अदालत)ले यस किसिमका अपराधलाई लक्षित गरी एउटा विशेष समूहसँगै एक अनुसन्धान केन्द्रको स्थापना गरेको पनि बताइएको छ । 

सन् २०१९ को अप्रिलदेखि डिसम्बरसम्म यो आपराधिक गिरोहले ६३ जना चिनियाँहरूबाट कुल १,६७,९४,७५८.५१ चिनियाँ युआन ठगेको थियो । यी १०१ मध्ये ९० जना इन्टरनेट जालसाजी तथा ठगीमा संलग्‍न रहेको पाइएको छ । यी दोषीहरूलाई १४ महिनादेखि ६ वर्षसम्म जेल सजाय तथा दश हजारदेखि बीस हजारसम्मको जरिवाना तिराइने बताइएको छ ।

यसैगरी अरू १९ जनालाई चच्याङ प्रान्तको वनचौ इन्टरमिडियेट पिपल्स कोर्टले सजाय सुनाएको छ । पर्यटन भिजामा नेपाल गइ अवैधानिक साइबर ठगीमा संलग्न भएको आरोपमा १९ जनालाई सजाय सुनाइएको हो । 

नेपाल प्रहरीबाट हस्तान्तरणपछि चिनियाँ प्रहरीले आपराधिक गतिविधिमा संलग्न यी १९ जनालाई वनचौ सहरको सम्बन्धित ब्युरोमा बुझाएको त्यहाँको स्थानीय सञ्‍चार संस्थाले लेखेको छ । यो समूहका मुख्य नाइकेलाई तीन वर्ष र दुई महिना जेलबाहेक ३० हजार युआन जरिबानाको सजाय सुनाएको छ । बाँकी आरोपीहरूलाई नौ महिनादेखि एघार महिनाका साथै ८ हजारदेखि १० हजार युआनसम्मको जरिबानाको सजाय सुनाएको छ । 

सन् २०२० को जुन महिनामा यी १९ जनामाथि सीमापार इन्टरनेट ठगी मुद्दा दायर गरिएको थियो । यी आरोपीबाट ठगी गरिएका सबै पैसा तथा सम्पत्ति बरामद गर्नुका साथै लिएका रकमहरू फिर्ता गरिएको पनि जनाएको छ । 
यी नेपालमा समातिएका साइबर अपराधी चिनियाँहरूले २०१९ को अप्रिलदेखि नेपालको राजधानी काठमाडौँमा बसेर चिआनआन नाममा एक आपराधिक गिरोहको स्थापना गरी चीनमा रहेका चिनियाँ नागरिकलाई इन्टरनेट तथा टेलिकम्युनिकेसन लक्षित सञ्‍चालमार्फत् ठगीधन्दा गर्दै आएका थिए । 

यिनीहरूले विभिन्न चिनियाँ प्ल्याटफर्म तथा साइट र विविध च्याट तथा डेटिङ साइटका माध्यमबाट भावनात्मक सम्बन्ध बढाएर विश्वासमा लिएर जुवा खेल्न तथा धेरै ब्याजको लोभ देखाएर लगानी लगाउन उक्साउने र पछि पैसा हत्याएर धोका दिने गरेका थिए ।
 
यिनीहरूको ‘सुँगुरको हत्या’ नाममा जालसाज फिजाएर अनलाइन डेटिङमार्फत लगानी वा जुवा खेल्न प्रेरित गर्ने र पीडितलाई ‘सुँगुर’ तथा भावनात्मक सम्बन्ध स्थापना गर्ने प्रक्रियालाई ‘सुँगुर जगाउने’ भनिने एउटा चरणबद्ध प्रक्रिया रहेको छ ।

गत वर्ष २०७६ पुसमा साइबर अपराधलगायत अन्य गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आशंकामा काठमाण्डुका विभिन्न ठाउँबाट ११४ जना पुरुष र ८ जना महिला गरी १२२ जना चिनियाँ नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको थियो । 

यसै क्रममा चिनियाँ विदेश मन्त्रालयका तत्कालीन प्रवक्ता कङ सुआङले चिनियाँ र नेपाली प्रहरीबीचको सक्रिय सहयोगको परिणाममा यो एक महत्वपूर्ण घटना भएको पत्रकार सम्मेलनमा बताएका थिए । सीमापार साइबर अपराधविरूद्ध संयुक्त रूपमा लड्न र दुई देशका जनताहरूबीच मैत्रीपूर्ण आदानप्रदान बढाउनुका साथै कानुनी शासनको प्रवर्द्धनलगायत विभिन्‍न क्षेत्रहरूमा नेपालसँग सहकार्य बढाउन इच्छुक रहेको औंल्याएका थिए । 

‘नेपालसँगको सहकार्यलाई मजबुद बनाउने क्रममा भएको यो संयुक्त अपरेशन हो । हामीले हाम्रो मित्रतालाई अझ बलियो बनाउने क्रममा प्रहरीबीच पनि संयुक्त कारवाही चलाएका हौं’, उनले भनेका थिए । यसै गरी गत अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच आपराधिक मामिलामा आपसी कानुनी सहयोगसम्बन्धी सन्धि पनि भएको थियो ।
 


Author

थप समाचार
x