म्यानमारमा पक्राउ परेका नेता छुट्न थाले, जनजीवन सामान्य बन्दै
काठमाडौँ : म्यानमारको शिशु लोकतान्त्रलाई निमोठेको सेनाले नागरिकलाई हिडडुलमा छुट दिन थालेको छ । सत्ता हातमा लिएपछि सेनाले सोमबारदेखि नेताहरूलाई पक्राउ गरेर एक वर्षे संकटकाल घोषणा गरेको छ । राष्ट्रपति र आङ साङ सूकीसहितका शीर्ष नेताहरूलाई पक्राउ गरेको सेनाले साना नेताहरूलाई पनि नियन्त्रणमा लिँदै राजनीतिक गतिविधिमाथि बन्देज लगाएको छ ।
तर मंगलबारदेखि सडक केही खुकुलो पारिएको छ । राजधानी नेपिदअ जाने आउनेलाई छुट दिइएको छ । म्यानमारमा रहेका पत्रकार दीपक भट्टराईका अनुसार फोन र इन्टरनेटमाथिको प्रतिबन्ध पनि खुकुलो पारिएको छ । सत्ता हातमा लिए पनि सेनाले जनजीवनलाई सामान्य बनाउने प्रयास गरेको पत्रकार भट्टराईले ट्वीटमा उल्लेख गरेका छन् ।
‘बर्मेली राजधानी नेपिद्अ भित्रिने निस्कनेलाई छुट दिइएको छ। सडक मार्ग सामान्य गरिएको छ’ भट्टराईले ट्वीटमा लेखेका छन्, ‘जनजीवनलाई जतिसक्दो सामान्य बनाउने प्रयास गरिएको छ। इन्टरनेट र फोन लगभग धेरै खुला गरिएको छ।’ इन्टरनेटमा निगरानी बढाउन यसो गरिएको भन्ने हल्ला पनि रहेको भट्टराईले उल्लेख गरेका छन् ।
सोमबार पक्राउ गरिएका नेताहरु रिहा हुन थालेका पनि उनले बताएका छन् । यद्यपि ठूला नेताहरूलाई भने अझै छाडिएको छैन। नोबेल पुरस्कार विजेता समेत रहेकी नेता सूकीबारे भने अहिलेसम्म कुनै जानकारी दिइएको छैन ।
म्यानमारमा भएको सैनिक कू को विश्वभर आलोचना भइरहेको छ । अमेरिकाले तत्काल सत्ता नछाडे कडा कदम चाल्ने चेतावनी म्यानमार सेनालाई दिएको छ । म्यानमार सैनिक कू बारे छलफल गर्न संयुक्त राष्ट्र संघले सुरक्षा परिषद्को आपतकालिन बैठक बोलाएको छ ।
आज दिउसो: बर्मेली राजधानी नेपिद्अ भित्रिने/निस्कनेलाई छुट दिइएको छ। सबै झैं सडक मार्ग सामान्य गरिएको छ। जनजीवनलाई जतिसक्दो सामान्य बनाउने प्रयास गरिएको छ। इन्टरनेट र फोन लगभग धेरै झैं खुला गरिएको छ। केही नेता छुट्न थालेका छन्। इन्टरनेटमा निगरानी बढाउन यसो गरिदैंछ भन्ने हल्ला छ।🙏
— Dipak Bhattarai (@dipakbhattarai) February 2, 2021
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया