विश्व

चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेट्‍ने पहिलो नेपाली वैज्ञानिक

अजय अलौकिक |
माघ २१, २०७७ बुधबार १९:५१ बजे

बेइजिङः 'पाखा पखेरूमा जन्मेको म विश्‍वकै शक्तिशाली राष्ट्रका सरकार प्रमुखसँग भेट गर्ने अवसर जुर्‍यो, नेपालबाट आएका नेता, मन्त्रीहरूले नै सजिलै भेटको अवसर पाउँदैनन्, मैले भेट गर्न पाएँ । नेपाल चीन सम्बन्ध तथा आदानप्रदानका विषयमा उहाँका सामु केही बोल्ने अवसर पाएँ । गौरवान्वित महसूस गरेको छु,' चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँगको अन्तरक्रियापछि दिङ्गला, भोजपुर घर भएका नेपाली वैज्ञानिक डिबि (डम्बरू वल्लभ) कट्टेलले इकागजसँग आफ्नो खुसी साटे । 

हुन पनि हो । नेपालबाट आएका नेताहरूले चिनियाँ नेतालाई भेट्छु भन्‍नासाथ सजिलैसँग भेट्न सम्भव छैन । हालै नेपाली वैज्ञानिकले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग भेट मात्र गरेका छैनन् । उनका सामु नेपाल चीनबीच आदानप्रदानका विषयमा आफ्नो धारणा समेत राखेका छन् । 


गत माघ २० गते, मंगलबार चीनका प्रधानमन्त्री ली खछ्याङसहित राज्य परिषद्का अरू सदस्यसँग चीनमा रहेर काम गरिरहेका विभिन्‍न देशका विज्ञ तथा वैज्ञानिकहरू ग्रेट हल अफ पिपलमा एक अन्तरक्रियात्मक कार्यक्रम भएको थियो । झण्डै दुई दर्जन देशका विज्ञ तथा वैज्ञानिकहरूको उपस्थितिमा नेपाल, संयुक्त राज्य अमेरिका, इटाली, सिङ्गापुर, बेलायत र फ्रान्सका विशेषज्ञहरूले मात्रै चीनको अर्थव्यवस्था र वित्त, वैज्ञानिक अनुसन्धान, विज्ञान तथा प्रविधि, कोभिड-१९ रोकथाम र नियन्त्रण, वातावरणीय संरक्षण र शिक्षाका बारेमा धारणा र सुझाव राख्‍ने अवसर पाएका थिए । 

यसै क्रममा सन् २०१६ देखि चाइनिज एकेडेमी अफ साइन्स (क्यास) अन्तर्गत तिब्बती उच्चपठार भूमि अनुसन्धान संस्थामा एसोसिएट प्रोफेशरको रूपमा कार्यरत नेपाली वैज्ञानिक डिबि कट्टेलले पनि आफ्नो धारणा तथा विचार राख्‍ने अवसर पाएका थिए ।

उनले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धबाट आफ्नो मन्तव्य आरम्भ गर्दै चीनले पछिल्लो दशकमा विज्ञानको क्षेत्रमा गरेको फड्को मार्ने विकासको चर्चा गर्दै चीनले यो विकासका अनुभव र अवसरलाई विश्‍व विज्ञान तथा वैज्ञानिक समुदायसँग बाँड्दैआएको बताएका थिए । 

उनले थर्ड पोल इन्भाइरोमेन्ट प्रोगाम (टिपिई) यसैको एउटा उदाहरण भएको बताउँदै काठमाण्डुमा हाल सो टिपिई नै अनुसन्धान तथा शिक्षाका लागि काठमाण्डु केन्द्र (केसिआरई) मा परिणत भएको र यसमार्फत् मेधावी नेपाली विद्यार्थीहरूले चीनमा उन्‍नत अध्ययन गर्ने अवसर पाएको पनि बताए । क्यास निकट भविष्यमा विश्‍वका ७ हजार वैज्ञानिकसँग सहकार्य गर्ने तयारीमा रहेको र चीन विश्‍व शिक्षा तथा अनुसन्धानको हब बन्‍नेमा कुनै शंका नरहेको पनि औंल्याए ।
 
उनले क्यासले विशेष गरी हिमालय क्षेत्रमा भइरहेको जलवायु परिवर्तनका बारेमा अनुसन्धान गर्दै आएको र यसको सोझो सम्बन्ध नेपालसँग रहेको पनि बताएका थिए । उनको भनाइपछि प्रधानमन्त्री लीले चीन र नेपालबीचको युगौं पुरानो सम्बन्ध सदा सुमधुर रहेको व्यक्त गर्दै हिमाली क्षेत्रको जलवायु परिवर्तनमा चीनले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको र चीन र नेपालबीचको सहकार्य धेरै महत्वपूर्ण रहने औंल्याएका थिए । 

 अन्तरक्रियात्मक कार्यक्रममा प्रधानमन्त्री लीले चीनको सुधार तथा खुलापनको नीतिपछि आफ्नो बुद्धि तथा सीपको साथमा विदेशी विशेषज्ञहरू चीनमा आएर काम थालेको भन्दै चीनको आधुनिकीकरण अभियानमा गरेको योगदानप्रति चिनियाँ जनता आभारी रहेको बताए । साथै प्रधानमन्त्री लीले चीन सरकारले अझ बढी खुलापनको प्रवर्द्धन गर्ने र उन्‍नत वैज्ञानिक विचार र अनुसन्धान विधिहरूको अध्ययन गर्दैजाने पनि औंल्याए । 

यताका सबै मिडियामा यस अन्तरक्रिया र नेपाललाई महत्वपूर्ण स्थान दिएकोमा वैज्ञानिक कट्टेल निकै खुसी छन् । व्यक्तिभन्दा पनि मैले नेपालको नाम उच्च गरें भन्‍ने लागेको छ, उनले भने । यो अवसर पाएकोमा चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालय र क्यासप्रति कृतज्ञ छु । साथै उनी नै चिनियाँ प्रधानमन्त्रीसँग भेट गर्ने सम्भवत पहिलो नेपाली वैज्ञानिक भएको बताउँछन् । 


Author

थप समाचार
x