विश्व

संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य 'कू' विफल पार्न आह्वान

इकागज |
माघ २२, २०७७ बिहीबार १८:५४ बजे

न्युयोर्क :  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमबार म्यान्मारमा भएको 'कू' विफल पार्न विश्‍व समुदायलाई आह्वान गरेका छन् । महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न आह्वान गरेका हुन् ।  उनले यो विषयलाई लिएर सुरक्षा परिषद्‍मा एकता हुने आशा रहेको बताएका छन् ।  

‘यो कू विफल बनाउन म्यान्मारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौँ’ उनले भनेका छन् ‘जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्ण रूपमा अस्वीकार्य छ । म आशा गर्छु कि म्यान्मारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’ गुटेर्रेसले बताएका छन् ।   
  
सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सुकीलाई गिरफ्तार गरेको थियो । म्यान्मारको प्रहरीले सुकीविरुद्ध विभिन्‍न अभियोगहरू लगाएको छ र फेबु्रअरी १५ तारिखसम्म उनी हिरासतमा रहने छिन  । सेनाले सत्ता हातमा लिएपछि सुकी र राष्ट्रपति विन मिनका तर्फबाट कुनै किसिमका प्रतिक्रियाहरू आएका छैनन् ।
 
म्यान्मारमा सेनाद्वारा एक वर्षका लागि संकटकाल लागु गरेको र सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ । गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप सेनाले लगाएको छ । चुनावमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अत्यधिक मत ल्याएको थियो ।


गत नोभेम्बरको चुनावबाट संसद्को तल्लो र माथिल्लो दुवै सदनका कुल ४७६ स्थानमध्ये सुकीको दल एनएलडीले ३९६ स्थान जितेको छ । सन् २००८ को संविधान बमोजिम सेनालाई संसदको कूल स्थानको २५ प्रतिशत छुट्याइएको छ । साथै कतिपय महत्वपूर्ण मन्त्रालय पनि सेनालाई नै दिइएको छ ।

सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको पनि समाचारमा जनाइएको छ । सामाजिक सञ्‍जालहरूले स्थायित्वको पुनर्स्थापनामा बाधा पुर्‍याएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो । बिहीबार प्रयोगकर्ताहरूले सामाजिक सञ्‍जालमा पहुँच नभएको बताएका थिए । 'कू'को विपक्षमा बनाइएको फेसबुक पेजमा दशौँ हजार लाइकहरू आएका छन् । (रासस)
 


Author

थप समाचार
x