यमनलाई गर्दै आएको समर्थन अन्त्य गर्ने बाइडनको घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् । छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ ।
'यमनमा युद्ध अन्त्य हुनुपर्छ,' विदेश नीतिबारे पहिलोपटक वक्त्व्य दिँदै अमेरिकी राष्ट्रपति जो बाइडनले भने । बाइडनका दुई पूर्ववर्तीहरूको प्रशासनका बेला हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाएको थियो ।
सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, यूके र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो । तर अलकायदाविरुद्धको कारबाहीलाई यसले असर गर्दैन ।
बिहीवारको घोषणापछि अब अमेरिकाले आक्रामक कारबाहीहरू रोक्छ । त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि विक्री गर्न बन्द गर्छ । बाइडन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरू बेच्न रोकिसकेको थियो ।
बाइडनले यमनका लागि नयाँ दूतमा टीम लेन्डरकिंगलाई नियुक्त गर्ने ठानिएको छ । उनी अनुभवी कूटनीतिज्ञ र मध्यपूर्व मामिलाका विज्ञ हुन् । यसले ट्रम्प प्रशासनले चाल्दै आएको नीतिमा परिवर्तनको सङ्केत गरेको छ । ट्रम्प प्रशासनका बेला साउदी नेतृत्वको गठबन्धनलाई सहायतामा वृद्धि गरिएको थियो ।
गत महिना ट्रम्पका विदेशमन्त्री माइक पोम्पेओले हुथीहरूलाई 'आतङ्कवादी सङ्गठन' को संज्ञा दिन लागिएको बताएका थिए । सहायता संस्थाहरूले भने उक्त कदमका कारण खाद्यान्न सहायताको खाँचो रहेका लाखौंलाई सेवा दिन नसकिने भन्दै आलोचना गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घले यमनमा ८० प्रतिशत जनसङ्ख्या सहायता र संरक्षणको खाँचोमा रहेको भन्दै त्यहाँ विश्वकै खराब मानवीय सङ्कट रहेको जनाएको छ । यी घोषणाहरूले यमनको विनाशकारी युद्ध अन्त्य गर्ने बाइडनको प्रतिबद्धताको पुष्टि गरेका छन् ।
साउदी नेतृत्वको गठबन्धनलाई सहायता रोक्नुले रक्तपातपूर्ण अध्यायलाई त समाप्त गर्दैन तर यसले रियाद र आवुधावीमाका नेताहरूलाई सशक्त सङ्केत पठाएको छ । उनीहरू आफैँ पनि यो दलदलबाट बाहिर निस्कन प्रयास गरिरहेका छन् ।
गत महिना कार्यालय छोडेका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिहरूलाई बाइडनको वक्तव्यले भङ्ग गरेको छ । बाइडनले अमेरिकाको विदेश नीतिमा यमनको विषयबाहेक अन्य परिवर्तनहरू पनि घोषणा गरेका छन् । तिनीहरूमा शरणार्थी मामिला र जर्मनीबाट अमेरिकी सेनालाई फिर्ता गर्ने भन्ने यसअघिको निर्णय उल्ट्याउने लगायतका निर्णयहरू छन् ।
शरणार्थी भर्ना गर्ने सङ्ख्यालाई आर्थिक वर्षमा १५,००० बाट बढाएर १,२५,००० पुर्याउने घोषणा उनले गरेका छन् । बाइडनले म्यानमारकी प्रजातान्त्रिक नेत्री आङ सान सू चीलाई रिहा गर्न र प्रजातन्त्र पुनर्स्थापित गर्न पनि म्यानमारको सेनालाई आह्वान गरेका छन् । उनले रुससँग कूटनीतिक रुपमा संलग्न रहने तर मस्कोसँग ट्रम्पका बेला भन्दा कडा रुपमा प्रस्तुत हुने वाचा गरे । बीबीसी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया