मालदिभ्समा छ हजार बढीलाई कोभिड खोप
माले : माल्दिभ्सले कोभिड-१९ विरूद्धको खोप सुरू गरेको पहिलो छ दिनमा छ हजार व्यक्तिलाई खोप लगाएको यहाँकोे स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गर्दै आइतबार स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।
तथ्याङ्क अनुसार माल्दिभ्समा शनिबार दुई हजार ५७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोभिड-१९ विरूद्धको खोप लिने व्यक्तिको सङ्ख्या छ हजार ८५४ पुगेको छ । खोप लगाएकाहरूमध्ये पाँच हजार ५८८ व्यक्ति राजधानीका रहेका र एक हजार २६६ राजधानी बाहिरका क्षेत्रका रहेको एचपीएको तथ्याङ्कमा उल्लेख छ ।
यसैबीच माल्दिभ्समा शनिबार कोभिड-१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १०९ रहेको र शनिबारसम्म कूल दुई हजार ३९ व्यक्तिमा सक्रिय सङ्क्रमण रहेको छ भने २०७ जनालाई कोभिड-१९ सङ्क्रमण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
माल्दिभ्समा अहिलेसम्म कूल १६ हजार ६५६ व्यक्तिमा काभिड-१९ सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये १४ हजार ५५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् भने ५४ सङ्क्रमितको मृत्यु भएको छ ।
माल्दिभ्स सरकारले आफ्ना सबै नागरिकलाई कोभिड-१९ विरूद्धको खोप निःशुल्क उपलब्ध गराउने र आगामी छ महिनामा सबैलाई खोप लगाईसक्ने बताएको छ । (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया