विश्व

भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा ३७ को निधन

इकागज |
फागुन ४, २०७७ मंगलबार २१:० बजे

तस्बिर : इन्डिया टुडे ।

नयाँ दिल्ली : भारतको मध्य प्रदेशमा मंगलबार एउटा बस नहरमा खस्दा कम्तिमा ३७ यात्रुको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् ।  प्रहरीले स्थानीयको सहयोगमा घटनास्थलमा अन्य घाइतेहरूलाई उद्धार गरेको एक अधिकारीले एएफपीलाई बताए । 

मंगलबार बिहान ५० भन्दा बढी यात्रुसहितको बस सटना गाउँ नजिक दुर्घटना भई नजिकैको नहरमा डुबेको थियो । बस दुर्घटनाको कारण अझै खुलीसकेको छैन । भारतको सडकको विशाल सञ्‍जाल कमजोर तथा खराब रहेको कारण वर्षेनी हजारौँ भारतीयको सडक दुर्घटनाका कारण मृत्यु हुने गर्छ । 


स्थानीय सञ्‍चारमाध्यमका अनुसार बस पूर्ण रूपमा डुबेको छ र सामजिक सञ्‍जालमा आएका तस्वीरहरूमा उद्धारकर्ताहरूले लाइफ ज्याकेट लगाएर निरन्तर उद्धार गरिरहेको देखाइएको छ ।  प्राप्त विवरणअनुसार दुर्घटनापछि चालकसहित सात व्यक्ति पौडी खेली पानीबाट सुरक्षित स्थलमा जान सफल भएका बताइएको छ । 

प्रहरी अधिकृत धर्मवीर सिंहले घटनालाई पुष्टि गर्दै भने, “हामीले अहिलेसम्म ३७ जनाको मृत शरीर पानीबाट निकालेका छौँ र तिनीहरूलाई अन्तिम परीक्षणका लागि पठाइएको छ । वेपत्ता अन्य यात्रुहरूको खोजी तथा उद्धारका लागि स्थानीयको सहयोगमा प्रहरी तथा उद्धार टोलीहरू खटिरहेका छन् ।”घटनापछि नहरको पानी बन्द गरी बसलाई दुर्घटना भएको तीन घण्टापछि क्रेनको सहयोगमा पानी बाहिर निकालिएको छ ।
 
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यलाई क्षतिपूर्ती तथा राहत स्वरूप दुई लाख भारतीय रूपैयाँ सहयोग प्रदान गर्ने ट्‍वीटरमा बताएका छन् । 

भारतमा कमजोर सडक संरचना, चालकको लापरबाही, पूराना गाडीलगायतका कारण सन् २०१९ मा एक लाख ५१ हजार ११३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । (रासस)
 


Author

थप समाचार
x