विश्व

अमेरिकामा हिमआँधीबाट कम्तीमा २३ जनाको मृत्यु

इकागज |
फागुन ५, २०७७ बुधबार १३:१५ बजे

वासिङ्टन : संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ। अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको हो । 

टेक्सासमा मंगलबार अपराह्नसम्ममा ३० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट विमुख भएका छन् । सुगरल्यान्ड शहरमा घरभित्र बालेको आगो फैलिएर भएको आगलागीबाट मंगलबार बिहान एक महिला र तीन बालबालिकाको मृत्यु भएको छ । 


उत्तरी क्यारोलिनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जना अरु घाइते भएका छन् । दक्षिणी टेनेस्सी राज्यमा पनि एक जना १० वर्षीय बालकको हिउँले ढाकिएको पोखरीमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकूल मौसमका कारण धेरैवटा कोभिड–१९ का खोप केन्द्रहरु पनि बन्द गर्नु परेको छ । खोप ढुवानीमा समेत समस्या उत्पन्न भएको छ । अर्को हिउँदे आँधी अमेरिकाका दक्षिण तथा मध्यपश्चिमी क्षेत्रमा बुधबारदेखि शुरु हुन लागेको पनि जलवायु अधिकारीहरुले बताएका छन् । रासस


Author

थप समाचार
x