विश्व

चिनियाँ खोप लगाउने आठ देशका राष्ट्र प्रमुखहरू

अजय अलौकिक |
फागुन ८, २०७७ शनिवार १४:३० बजे

बेइजिङः हालै मात्र नेपालले कोभिड-१९ विरुद्धको चिनियाँ खोप 'भेरो सेल'लाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । साथै दुई मुलुकका परराष्ट्र मन्त्रीबीचको टेलिफोन संवादपछि जारी विज्ञप्तिमा चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जानकारी पनि उल्लेख छ । साथै चीनले ५३ वटा विकासोन्मुख देशहरूलाई खोप सहायता र २२ वटा देशमा खोप निर्यात गरेको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी आठ देशका राष्ट्रप्रमुखहरूले चिनियाँ खोप लगाइसकेको पनि बताएको छ ।

यी आठवटा देश तथा राष्ट्रप्रमुखहरू को को हुन् ? चिनियाँ खोपबारे के भन्छन् त?
हालसम्म ईक्वेटोरियल गिनी, टर्की, सेशल्स, ईण्डोनेसिया, पेरू, चिलीका राष्ट्रपति, जोर्डनका प्रधानमन्त्री र बहराईनका युवराज तथा प्रधानमन्त्रीले चिनियाँ खोप लगाइसकेका छन् । चीनको सहयोगप्रति ईक्वेटोरियल गिनीका राष्ट्रपतिले चीनको निष्कपट मित्रता भएको व्याख्या गरेका छन् । पाकिस्तान तथा कम्बोडियाले पनि निष्कपट मित्रताको चर्चा गरेका छन् । यसैगरी हालै मात्र खोप लगाएका चिलीका राष्ट्रपति सेवास्टियन पिनेराले चिनियाँ खोप एकदम भरपर्दो र प्रभावकारी भएको व्यक्त गरेका छन् । 


सर्वियाका राष्ट्रपति एलेयान्द्रो मुखिचले पनि आफ्नो विरामी आमालाई चिनियाँ खोप लगाएको ९ दिनमै एण्टीबडी देखिएको भन्दै खोपको प्रशंसा गरेका छन् । यसै गरी टर्की, सेशल्स तथा ईण्डोनेसियाका राष्ट्रपतिले पनि चिनियाँ खोप निकै प्रभावकारी भएको व्यक्त गरेका छन् । ईण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले दुई चरणकै खोप भ्याइसकेका छन् । 

साथसाथै विश्वका धेरै नेताहरूले चिनियाँ खोपको प्रशंसा गरेका छन् । युरोपेली यूनियन सदस्य राष्ट्र हङ्गेरीले पनि हालै चिनियाँ खोप भित्र्याएका छन् भने अरू केही युरोपेली राष्ट्रहरू पनि चिनियाँ खोपतर्फ आकर्षित भइरहेका छन् । विशेषत विकासोन्मुख देशहरूले चिनियाँ खोपलाई उच्च महत्व दिएका छन् । साथै चिनियाँ खोप भित्र्याएका या अनुदान पाएका कतिपय देशले चिनियाँ खोपलाई उच्च शिष्टाचार नै व्यक्त गरेका छन् । कतिपय देशमा राष्ट्रप्रमुखहरू चिनियाँ खोपलाई स्वागत गर्न एयरपोर्टमै पुगेका छन् । साथै कतिपय राष्ट्रप्रमुखहरूले चीनसँग खोप खरीदका लागि पहल पनि गरिसकेका छन् । खोपका लागि विमान नै पठाएका छन् । 

यसबाहेक विकसित राष्ट्रहरूले आफ्नो लागि खोपको भण्डार गरेसँगै विकासोन्मुख देशहरू चिनियाँ खोपतर्फ थप बढी आकर्षित भएका छन् । अमेरिका तथा पश्चिमा राष्ट्रहरू आफ्ना जनताका लागि मात्रै खोपको व्यवस्थापनमा जोड दिइरहेको अवस्थामा चीनले अघिदेखि नै चीनले अनुसन्धान तथा विकास गरेको चिनियाँ खोपलाई विश्वको सार्वजनिक स्वास्थ्य वस्तुको रूपमा राख्ने बताउँदैआएको छ । यस सम्बन्धमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सम्बोधनहरूमा धेरै पटक प्रतिबद्धता व्यक्त गरेका छन् । 

चीनको निष्कपट मित्रता र विश्व साझा भाग्य समुदायबाहेक चिनियाँ खोपको प्रभावकारिता अर्को पक्ष हो । हालसम्म चिनियाँ खोप लगाएकामा गम्भीर प्रतिकूल या नकारात्मक असर परेको समाचार छैन । चिनियाँ साइनोफार्मको तेस्रो चरणको परीक्षणमा १२५ देशका ६० हजार सहभागी भएका थिए । यसै गरी चीन खोपको अत्यधिक उत्पादन तथा निर्यातको ग्यारेन्टी दिन पनि सक्षम छ । 

चीनको सिसिटिभीका अनुसार, हालसम्म विश्वभर चिनियाँ कम्पनी साइनोफार्मद्वारा उत्पादित ४ करोड ३० लाख डोज खोप लगाइएको छ र तीमध्ये चीनमा मात्र ३ करोड ४० लाख डोज खोप लगाइएको छ । उक्त सञ्चार माध्यमको अनुमान अनुसार, सन् २०२२ को अन्तसम्ममा चीनको वार्षिक उत्पादन क्षमता ४ अर्ब डोजसम्म पुग्ने छ ।


Author

थप समाचार
x