झण्डै एक वर्षदेखि व्यवसाय गुमाएका वायु सेवा इन्धन मूल्य वृद्धिको मारमा
काठमाडौँः कोभिड–१९ महामारीका कारण लामो समय व्यवसाय गुमाएका वायु सेवा कम्पनीहरू कच्चा तेलको मूल्यमा वृद्धिका कारण पुनः मारमा परेका छन् । कच्चा तेलको मूल्य उनीहरूका लागि टाउको दुखाइ भएको छ । कोभिड–१९ महामारीका कारण यात्रामा प्रतिबन्धले विश्वभर एयरलाइन्स व्यवसायलाई नराम्ररी प्रभावित पारेको छ । महामारी नियन्त्रणका लागि खोप लगाउने क्रम शुरु भएपछि विश्वभर यात्रीहरूको आवागमन विस्तारै सुधारका लागि संघर्षरत छ ।
अमेरिकामा जेट फ्युल (इन्धन)को मूल्य १३ महिनाकै उच्च बिन्दूमा पुगेको छ । अमेरिकामा हवाई इन्धन प्रति ग्यालोन (३.७८५ लिटर) १.६७ डलर पुगेको छ । टेक्सास राज्यमा हिम आँधीका कारण उत्पादन, प्रशोधन र ढुवानीमा समस्या भएपछि अमेरिकामा इन्धनको मूल्य बढेको थियो ।
सन् २०२१ को जुन पछिमात्र इन्धनको मूल्य यसरी बढ्ने अनुमान गरिएको भएपनि महामारी नियन्त्रणको शुरुवाती बिन्दूमै कच्चा तेलको मूल्य वृद्धिले उठ्ने क्रममा रहेका व्यवसायलाई प्रभावित बनाएको अमेरिकी वायु सेवा व्यवसाय विशलेषक रेमोण्ड जेम्सले उल्लेख गरेका छन् ।
‘चालु पुँजीको अभावको समस्या व्यहोरिरहेका एयरलाइन्सहरूका लागि यो चुनौतीपूर्ण अवस्था हो किनकी यात्रुहरूको आवागमन अपेक्षा अनुसार बढ्न सकेको छैन ।’
लागतको ‘हेडविन्ड’
स्पीरिट एयरलाइनसका प्रमुख वित्तीय अधिकृत स्कोट हराल्सनले बजेट एयरलाइन्सहरूलाई चुनौती थपेको बताएका छन् । बजेट एयरलाइन्सहरूले सन् २०२० को पहिलो त्रैमासको तुलनामा यो वर्ष सोही अवधिमा इन्धनको मूल्य ३२ प्रतिशतले बढ्ने अनुमान गरेका थिए । अलिजेन्ट एयरलाइन्सको माउ कम्पनी अलिजेन्ट ट्राभलका प्रमुख वित्तीय अधिकृत ग्रेग एण्डरसनले एयरलाइन्स कम्पनीहरूले बढ्दो इन्धनको मूल्य लागतमा उच्च हुनुलाई विमान सेवाका लागि बढ्दो लागतको ‘हेडविण्ड’ (विमान उड्दा अग्रभागबाट हुने हावाको दबाब) भनेका छन् ।
एयरलाइन्सको श्रमिकबाहेक अर्को सबैभन्दा ठूलो खर्च भनेको हवाई इन्धन हो । एयरलाइन्स व्यवसायको पुनरुत्थानका लागि अहिले संघीय सरकारले अर्बौ डलर यसका श्रमिकहरूको रोजगारीको निरन्तरताका लागि अनुदानमा दिएको छ ।
यात्रा प्रतिबन्धपछि गत वर्ष हवाइ इन्धनको माग ह्वात्तै घटेको थियो । अमेरिकन एयरलाइनसले सन् २०१४ देखि हवाइ इन्धनको मूल्यको हेजिङ गर्न छाडेको हो । अमेरिकन एयरलाइन्सको यस वर्षको खर्चमा इन्धनको बिलको हिस्सा १२ प्रतिशत छ । सन् २०१९ को २२ प्रतिशतको तुलनामा महामारीपछि इन्धनको मूल्य घटेसँगै खर्चमा कमी आएको हो । ‘तर प्रति ग्यालोन १ प्रतिशतमात्र मूल्य बढ्दा पनि अमेरिकन एयरलाइन्सका वार्षिक इन्धन खर्च ३ करोड ८० लाख डलरले वृद्धि हुने,’ अमेरिकन एयरलाइन्सले उल्लेख गरेको छ ।
माग पुनः पहिलेकै अवस्थामा फर्कदैं!
अमेरिकामा हवाइ इन्धनको खपत गत वर्षको पहिलो त्रैमासको तुलनामा एक तिहाइ छ । अहिले आपूर्तिमा अवरोधले पनि इन्धनको मूल्य वृद्धिलाई माथि धकेलेको हो । यात्रुहरूको आवागमन बढेसँगै यो क्रमशः पुरानो अवस्थामा आउन पनि जरुरी छ । यो महिना अमेरिकामा दैनिक औसत ८ लाख १० हजार मानिसहरूले हवाई यात्रा गरिरहेका छन् जबकी अघिल्लो वर्ष यही महिनाको दैनिक औसत २१ लाख जना थिए ।
माग नै कम भएकाले अन्य इन्धनको तुलनामा हवाइ इन्धनको उत्पादन पनि कम छ ।
(सीएनबीसीबाट)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया