भारतको उत्तराखण्डमा पाँच प्रदेशबाट आउनेलाई अनिवार्य कोभिड-१९ परीक्षण
देहरादुन : भारतको उत्तराखण्ड प्रदेशमा अन्य पाँच प्रदेशबाट आउने व्यक्तिलाई कोभिड-१९ परीक्षण अनिवार्य गरिएको छ । अधिकारीहरूका अनुसार, महाराष्ट्र, गुजरात, कर्नाटक, मध्य प्रदेश र छत्तीसगढ प्रदेशबाट आउनेलाई परीक्षण अनिवार्य गरिएको हो ।
कोभिड-१९ को महामारीबाट अत्यन्त प्रभावित भएकाले ती प्रदेशबाट आएकाहरुलाई परीक्षण अनिवार्य गरिएको अधिकारीहरूले जनाएका छन् । 'उल्लेखित प्रदेशहरूमा कोभिड-१९ को महामारी अझै न्यून भएको छैन, त्यसैले ती मध्ये जुन प्रदेशबाट आए पनि उनीहरूलाई कोरोना परीक्षण गराउन निर्देशन छ,' निर्देशनमा उल्लेख गरिएको छ । विभिन्न प्रदेशहरूमा कोभिड-१९बाट सङ्क्रमित र मृत्यु भएकाहरूको सङ्ख्यामा बृद्धि भएपछि यस्तो व्यवस्था गरिएको हो ।
भारतमा मंगलबार बिहान थप १० हजार ५८४ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अरु ७८ जनाको मृत्यु भएको छ । यो सङ्ख्या पछिल्लो २४ घण्टामा भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोभिड-१९ बाट सङ्क्रमित भएकाहरूको कुल सङ्ख्या एक करोड १० लाख १६ हजार ३४३ पुगेको छ । ती मध्ये एक लाख ४७ हजार ३०६ अझै सक्रिय अवस्थामा रहेका छन् । त्यसैगरी कोभिड-१९का कारण भारतमा अहिलेसम्म एक लाख ५६ हजार ४६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया